एक दशक बित्दा पनि धनुषाका दर्जन बढी पुल अधुरै, यात्रुलाई सास्ती

श्रावण २४, २०८३ |अमरकान्त ठाकुर
एक दशक बित्दा पनि धनुषाका दर्जन बढी पुल अधुरै, यात्रुलाई सास्ती

धनुषा । धनुषामा एक दर्जनभन्दा बढी पुल निर्माण सुरु भएको एक दशक बित्नलाग्दा पनि अधुरै छन् । 

सीमा विवाद, निर्माण कम्पनीहरूको ढिलासुस्तीलगायतका कारणले पुलहरू बन्न नसकेका हुन् । यसले आयोजनाको लागत त बढाएको छ नै नागरिकले यात्रामा सास्ती खेप्नुपरेको छ ।

ढल्केबर, जनकपुर, जटही ६ लेन सडक खण्डको दूधमती पुल दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी २०७६ सालमा ठेक्का सकारेको निर्माण कम्पनीले दुई दुई पटक थप म्याद गरेर पनि पुल अधुरै छ । ६ लेन सडक त बन्यो तर पुल नबन्दा सडक जोडिन सकेको छैन । 

डाइभर्सनसमेत नहुँदा यात्रु सास्ती खेप्न बाध्य छन् । पुलको ५२ प्रतिशत भौतिक प्रगति देखाउँदै ठेक्का कबोल भएको १३ करोडमध्ये निर्माण कम्पनीले ५१ प्रतिशत रकम भुक्तानी लिइसकेको छ । धनुषाकै महेन्द्रनगरदेखि धनुषाधाम जोडने मिथिला मध्यमा परिक्रमा सडकअन्तर्गत जल्लाद खोलामा बन्न लागको पुल १० वर्ष बित्नलागे पनि अधुरै छ । 

दुहबी-हरसा सडकमा पर्ने डुमरिया खोलमा पनि पुल बन्न थालेको ९ वर्ष भइसके पनि सम्पन्न भएको छैन । यी दुइवटै पुलको भौतिक र वित्तीय प्रगति ५० प्रतिशतमाथि देखाइएको छ । जमुनी नदीमा बन्न लागेका तीनवटा पुल सीमा समस्याको कारण देखाउँदै भारतीय पक्षले रोकेको छ भने डिजाइन पुनरावलोकन र अदालतले जारी गरेको निषेधाज्ञाका कारण दुईवटा पुलको निर्माण अवरुद्ध छ । 

दुई दुई पटक म्याद थप गरे पनि ढल्केबर, जनकपुर, जटही ६ लेन सडकमा पर्ने बसही खोला, जल्लाद नदी, पाथर खोला र दूधमती नदीमा सम्झौता भएको १० वर्षमा पुल नबनेपछि सडक डिभजिन कार्यालय जनकपुरले ठेक्का तोडेर फेरि पुल निर्माण प्रक्रिया अघि बढाएको छ ।

त्यस्तै ढिलासुस्ती गर्ने निर्माण कम्पनीसँग सडक डिभजिन कार्यालय जनकपुरले ६ वटा सडकको पनि ठेक्का तोडेको छ । १० वटा पुलको काम चालु अवस्थामा रहेको भनिए पनि सातवटाको काम सक्नुपर्ने म्याद सकिइसकेको छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।