स्रोतसाधनको अभावमा पारा खेलाडीको एसियाड तयारी, सरकारसँग सहयोगको अपेक्षा

पदक जित्ने अठोट
श्रावण २४, २०८३ |विनयज्योति सापकोटा
स्रोतसाधनको अभावमा पारा खेलाडीको एसियाड तयारी, सरकारसँग सहयोगको अपेक्षा

काठमाडौं । विभिन्न खेलका खेलाडीहरु यतिखेर एसियाडको धमाधम तयारी गरिरहेका छन् । 

कोही विदेश गइसकेका छन् भने कोही स्वेदशमै । तर, पारा खेलाडीलाई भने सरकारले बेवास्ता गरेको छ । पारा टेबलटेनिस खेलाडीहरू आफ्नै खर्च र सीमित स्रोतसाधनमा प्रशिक्षण गरिरहेका छन् । तै पनि देशका लागि पदक जित्ने खेलाडीहरुको लक्ष्य छ । आफ्नो खेलबारे र अभ्यासमा सरकारले गरेको बेवास्ताबारे के सोचिरहेका छन् खेलाडीहरु ?

कहाँ सजिलो छ र घरबाट खेलस्थल सम्म पुग्न ? केही खेलाडीसँग सवारी साधन भए पनि धेरैसँग त्यो पनि छैन । शरीरले साथ नदिँदा नदिँदै पनि जोश र उत्साहले नै यी पारा टेबलटेनिस खेलाडीलाई मैदानसम्म पुर्‍याइरहेको छ । एसियाडमा देशका लागि खेलेर पदक जित्ने उद्देश्य छ । तर यी खेलाडीलाई सरकारले चिन्दैन, देख्दैन । प्रशिक्षणमा सरकारले बेवास्ता गरेपछि खेल सामग्री खरिद, आवतजावत र खाना खर्च आफैंले बेहोरिरहेका छन् ।

प्रशिक्षणका लागि सुविधा नाममात्रको छ । हलमा दैनिक सरसफाइसमेत हुँदैन । खेलाडीहरुले आफूलाई जहाँ पायक पर्छ त्यही अभ्यास गर्नुपर्ने हुन्छ । बाध्यता त कस्तो भने आफूलाई मनपरेको खेल होइन जुन खेल खेल्न सहज हुन्छ त्यो रोज्नुपर्ने उनीहरुको अर्को बाध्यता हो । पारा टेबलटेनिस खेलाडीका लागि विशेष खेल सामग्रीको अभाव अर्को चुनौती हो । 

अन्तर्राष्ट्रिय खेलाडीले प्रयोग गर्ने स्पोर्ट्स ह्विलचेयर नेपालमा सहजै उपलब्ध छैन । कतिपय खेलाडी दैनिक प्रयोगकै ह्विलचेयरमा प्रतियोगिता खेल्न बाध्य छन् । सरकारबाट सामान्य प्रशिक्षण खर्चदेखि खेल सामग्री, प्रशिक्षण क्याम्प र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आर्थिक सहयोगको अपेक्षा गरिरहेका छन् उनीहरु । अन्य खेलाडीका लागि विशेष प्रशिक्षण र विदेशमा समेत क्लोज क्याम्पको व्यवस्था भइरहँदा पारा खेलाडी सरकारको चरम विभेदको शिकार भइरहेका छन् ।

सरकारले विभेद नगरेको कुरा एकछिन बिर्सिदिने हो भने नेपालमा प्रशिक्षणको वातावरण विस्तारै सकारात्मक बन्दै गएको खेलाडीहरूको अनुभव छ । सुरुमा ह्विलचेयरमा बसेर टेबलटेनिस खेल्न खोज्दा अप्ठ्यारो व्यवहार भोगेका खेलाडीलाई अहिले सामान्य खेलाडीसरह कोर्टमा स्वागत हुन थालेको छ । 

राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघका अनुसार आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सात जना खेलाडीको नाम दर्ता गरिएको छ । ती खेलाडीले यसअघि एसियन गेम्स तथा युथ एसियन गेम्समा सहभागिता जनाइसकेका छन् । खेलाडीहरू आफूले सक्दो प्रयास गरिरहेका छन् । उनीहरूको आत्मविश्वास छ-सरकारले प्रशिक्षण, खेल सामग्री र अन्तर्राष्ट्रिय तयारीमा साथ दिए पदकको दूरी धेरै टाढा छैन ।

अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नियमित र वैज्ञानिक प्रशिक्षण चाहिन्छ । राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघका अनुसार चैत १ देखि प्रशिक्षणलाई नियमित बनाइएको छ । एसियन गेम्स नजिकिँदै गर्दा खेलाडीको प्रशिक्षण समय र अभ्यासको तीव्रता पनि बढाइएको छ ।

पारा टेबलटेनिसमा नेपालका खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने सम्भावना रहेको प्रशिक्षक र खेलाडीको दाबी छ । गत पारा युथ एसियन गेम्समा नेपालले टेबलटेनिसमा रजत पदक जितेर इतिहास बनाएको थियो । तर, त्यसका लागि अन्तर्राष्ट्रिय एक्सपोजर, दक्ष प्रशिक्षक र आधुनिक प्रशिक्षण सुविधा आवश्यक रहेको प्रशिक्षक बताउँछन् ।

सीमित स्रोतसाधनका बीच पनि नेपाली पारा टेबलटेनिस खेलाडीको अभ्यास भने रोकिएको छैन । आफ्नै खर्चमा प्रशिक्षण गर्दै आएका यी खेलाडीले सरकारको सहयोगको आशा गरिरहँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउने लक्ष्यमा भने दृढ छन् ।

नायक पौडेल र विनयज्योति सापकोटाकाे रिपार्ट


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।