नुवाकोटको नटाङ डाँडाबाट रमणीय दृष्यावलोकन गर्न सकिने, पूर्वाधार र सडक सुधारसँगै पर्यटक बढ्ने अपेक्षा

आश्विन २८, २०८२ |कमला पाख्रिन
नुवाकोटको नटाङ डाँडाबाट रमणीय दृष्यावलोकन गर्न सकिने, पूर्वाधार र सडक सुधारसँगै पर्यटक बढ्ने अपेक्षा

नुवाकोट । नुवाकोटको नटाङ डाँडालाई पहिले स्थानीयले पशुचौपाया चराउन, घाँस-दाउरा र चिहानका लागि यो प्रयोग गर्थे । 

अहिले भने नटाङ डाँडा आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । हालै निर्माण गरिएको ३४ फिट अग्लो बुद्धको मूर्तिसहितको पार्क, पहाडले घेरिएको हरियाली र गाउँघरको मनोरम दृश्यले सजिएको नटाङ डाँडा अहिले आन्तरिक पर्यटकको नयाँ रोजाइमा पर्न थालेको हो ।

नुवाकोटको दुप्चेश्वर गााउपालिकाको ३ र ४ वडाको संगमस्थल नटाङडाँडा सिन्धुपाल्चोक, रसुवा र नुवाकोटबाट भगवान् गौतमबुद्धको प्रतिमासहितको बुद्धपार्कमा पुग्न सकिन्छ । हरियाली पहाड, नीलो आकास र बादलले छोपिएका डाँडाकााडाले घेरिएको बस्तीको मौसम खुलेको दिनमा यहाँबाट देखिने रमणीय दृश्यले जो-कोहीलाई लोभ्याउँछ ।

शान्तिको प्रतीक बुद्धपार्क डाँडाकाँडाले घेरिएको छ । हरियो वातावरणमा बादलले छोपिएको सुन्दर पहाड र बस्तीको बीचमा रहेको पर्यटकीय बुद्धपार्क वरिपरि फहराइरहेका बौद्ध संस्कृतिका रंगीचंगी ध्वजापताकाले वातावरणलाई शान्त र आकर्षक बनाएका छन् । ३४ फिट अग्लो बुद्धमूर्ति, सुन्दर बगैँचा, दृश्यावलोकनका प्वाइन्ट र विश्रामस्थलका पूर्वाधार विस्तारसागै नटाङ डाँडा पर्यटकका लागि रमणीय गन्तव्यको रूपमा विकसित हुँदैछ ।

आसपासमा बन्दै गरेका थप पूर्वाधार र सडक सुधारसागै यहाँ आउने पर्यटकको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ । बुद्धपार्क निर्माणले गाउँको पहिचान मात्र परिवर्तन गरेको छैन, आर्थिक गतिविधि र रोजगारीका अवसर पनि बढाएको छ । धार्मिक र प्राकृतिक सौन्दर्यको संयोजन भएको नाटाङ अब नुवाकोटको नयाँ पर्यटन गन्तव्यको रूपमा उदाएको छ ।

धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको अद्भुत संयोजनका रूपमा विकसित नाटाङ डाँडाले नुवाकोटको पहिचानमा नयाँ आयाम थपेको छ । बुद्धको शान्त मुस्कान, हरियो वातावरण र बादलले खेलिरहेको आकासबीचको यो ठाँउ नुवाकोटको लागि मात्र होइन, देशभरका पर्यटकका लागि पनि आध्यमिक, शान्ति र प्राकृतिक सौन्दर्यको गन्तव्य बनेको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।