१०औँ पीएम कप एनभीए लिग : महिलातर्फको उपाधि पुलिस क्लबलाई

वैशाख १९, २०८३ |सुवास रोकाया
१०औँ पीएम कप एनभीए लिग : महिलातर्फको उपाधि पुलिस क्लबलाई

काठमाडौं । १०औँ पीएम कप एनभीए लिगअन्तर्गत महिलातर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । 

शनिबार सम्पन्न फाइनल खेलमा पुलिसले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ४ सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । यससँगै चौथोपटक च्याम्पियन बनेर पुलिस प्रतियोगिताकै सफल टोली बनेको छ । उपाधिसँगै पुलिस लगातार तेस्रोपटक काभा क्लब च्याम्पियन्सिपको लागि छनोट भएको छ । 

साथै एनभीए च्याम्पियनसिप, शेरबहादुर खड्का स्मृति भलिबल र टाइगर कप भलिबलको फाइनलमा न्यु डायमन्डविरुद्ध बेहोरेको हारको बदलासमेत लिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा न्यु डायमन्डको अपराजित यात्रामा पूर्णविराम लगाउने क्रममा पुलिसले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पार्‍यो । 

दोस्रो सेटमा भने न्यु डायमन्डले कमब्याक गरेर २५-१७ को नतिजा निकाल्यो । यसपछि खेल १-१ को रोमाञ्चक अवस्थामा पुगेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा पुलिसले २५-२३ ले जित्दै २-१ को अग्रता बनायो । चौथो सेटमा त एकपक्षीय नतिजा हात पार्दै पुलिसले २५-१९ ले उपाधि नै जित्न सफल भयो ।

न्यु डायमन्डसँग लिग चरणमा बेहोरेको हारको बदला लिँदै च्यामिपयन बनेको पुलिसले १० लाख रुपैयाँ प्राप्त गर्दा न्यु डायमन्डले भने ५ लाख रुपैयाँमा चित्त बुझायो ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।