दोलखा । हिमाल आरोहणमा महिलाको सहभागितालाई प्रर्वद्धन गर्ने लक्ष्यसहित दोलखाको रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको ‘यलुङ रि’ हिमालको शिखरमा एकै पटक आठ महिलाले सफल आरोहण गरेका छन् । हिमाल आरोहणमा महिलाको सहभागितालाई प्रर्वद्धन गर्ने लक्ष्यसहित दोलखाको रोल्वालिङ क्षेत्रको ५ हजार ६ सय ३० मिटर अग्लो ‘यलुङ रि’ हिमालको ६ देशका आठ महिला आरोहण गरेका हुन् ।
बुधबार बिहान ८ बजेर २ मिनेटमा सबै जना एकै पटक ‘यलुङ रि’को चुचुरामा पुगेको आरोहीका पथ प्रदर्शक अन्तराष्ट्रिय हिमालका आरोहणका पथ प्रदर्शक पासाङ किदर शेर्पाले बताउनुभयो । महिला पर्वतारोहणको सहकार्य नाम दिईएको उक्त टोलीले अन्तराष्ट्रिय रुपमा हिमाल आरोहणमा महिलाको सहभागितालाई प्रवद्धन गर्ने लक्ष्यसहित शुरुमा ५ हजार ९ सय ३० मिटर अग्लो रामदुङ आरोहण गर्ने तालिका थियो ।
मौषममा आएको बदलीका कारण अत्याधिक हिमापतले रामदुङ आरोहण हुन नसकेको उनले बताए । अभियानमा नेपाल,अमेरिका,अफगानिस्तान, भारत पाकिस्तान र ताजिकिस्तानका ९ जना महिलाको सहभागिता रहेको छ । उनीहरु मध्ये अफगानिस्तानकी नेकी हैदरी भने स्वास्थ्यका कारण ४ हजार मिटर पुगेर झर्नुभयो। उनीहरुलाई हिमाल आरोहणमा अन्तराष्ट्रिय पथ प्रदर्शक पासाङ किदर शेर्पा र मिङमा छिरि शेर्पाले सघाएका थिए ।
सामुहिक रुपमा एकै पटक युलुङ रिको शिखरमा पुग्दा निकै रोमाञ्चक भएको आरोहणमा सहभागी ताजकास्तानकी मरियम शारिपोभाले बेदिङबाट फोनमा बताउनुभयो । बुधबार बिहान १ बजेबाट ‘यलुङ रि’ आरोहण गरेर ७ घण्टामा चुचुरामा पुगिएको उहा“ले बताउनुभयो । अन्तराष्ट्रिय रुपमा पर्वतारोहणमा महिला सहभागिता बढाउन र हिमाल आरोहणमा महिलालाई प्रवद्धन गर्ने उद्धेश्यले यो अभियान थालिएको अन्तराष्ट्रिय पथ प्रदर्शक पासाङ किदर शेर्पाले बताउनुभयो ।