
काठमाडौं । फिफा विश्वकप २०२६ अब केवल ४१ दिन टाढा छ ।
आजको विश्वकप विशेषमा हामी स्पोर्टिङ जायन्ट अस्ट्रेलियाको चर्चा गर्नेछौँ । विश्वकपमा सातौँ उपस्थिति जनाउन लागेको अस्ट्रेलियाको सबल र दुर्बल पक्ष के के हुन् त ?
सन् १९७४ मा पहिलोपटक विश्वकपको मञ्चमा देखापरेको अस्ट्रेलिया सन् २००६ यता भने निरन्तर सहभागी भइरहेको छ । सकरुज उपनामले चिनिने अस्ट्रेलियाली टोलीले सन् २००६ र २०२२ मा त अन्तिम १६ कै यात्रा पनि तय गरेको थियो ।
विशेषगरी, कतार विश्वकपमा अर्जेन्टिनालाई अन्तिम १६ मा कडा टक्कर दिएको सकरुजको प्रदर्शनले यसपटक समर्थकहरूको अपेक्षा अझ बढाएको छ । फिफा वरीयतामा २७औँ स्थानमा रहेको यो टोली हाल मुख्य प्रशिक्षक टोनी पोपोभिचको नेतृत्वमा छ ।
पोपोभिचले सन् २०२४ सेप्टेम्बरमा ग्राहम आर्नोल्डको स्थान लिँदै टोलीलाई एसियाली छनोट चरण पार गराउन सफल भएका थिए । अस्ट्रेलियाले साउदी अरबलाई २–१ ले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको थियो । टोलीको कप्तानी अनुभवी गोलकिपर म्याथ्यू रायनले गर्नेछन्, जसले यसअघि तीनवटा विश्वकप खेलिसकेका छन् ।
मिडफिल्डमा ज्याक्सन इर्भिन र रक्षापंक्तिमा ह्यारी सुटार टोलीका बलिया खम्बा हुन् । त्यस्तै, नेस्टोरी इरानकुन्डा र जोर्डन बोसजस्ता युवा प्रतिभाहरूबाट अस्ट्रेलियालाई बढी अपेक्षा छ । विश्वकपमा अस्ट्रेलिया समूह ‘डी’ मा छ, जहाँ उसले आयोजक संयुक्त राज्य अमेरिका, पाराग्वे र टर्कीसँग प्रतिस्पर्धा गर्नेछ ।
अस्ट्रेलियाले जुन १४ मा टर्कीविरुद्ध खेल्नेछ । त्यस्तै, जुन १९ मा अमेरिकाविरूद्ध र जुन २५ मा पाराग्वेविरूद्ध खेल्दै आफ्नो समूह चरणको अन्तिम खेल खेल्नेछ । अस्ट्रेलियाली समर्थकहरू आफ्नो टोलीले उत्तर अमेरिकामा नयाँ इतिहास रच्नेमा आशावादी छन् ।
एसियाली पावरहाउसको रूपमा उदाएको अस्ट्रेलियाले उत्तर अमेरिकामा नयाँ इतिहास रच्न सक्छ कि सक्दैन, त्यो हेर्न भने अब केवल ४१ दिन बाँकी ।