
काठमाडौं । आईसीसी विश्वकप लिग टूमा नेपालले यूएईलाई ६ रनले हराएको छ।
टीयू क्रिकेट मैदानमा डीएलएस पद्धतिबाट २ सय ५५ रनको लक्ष्य पाएको यूएईले निर्धारित ३८ ओभरमा दुई सय ४८ रन बनाएपछि नेपाल विजयी भएका हुन्। नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो।
नेपालले कमजोर सुरुआत गरेको भए पनि उत्कृष्ट फिनिस गरेर पहिलो इनिङ प्रतिस्पर्धात्मक अवस्थामा समाप्त गरेको थियो। ओडीआईमा डेब्यू गरेका अर्जुन कुमाल ११ र भीम सार्की शुन्यमा आउट भए । यी दुबैलाई अजय कुमारले आउट गरेका हुन् ।
३९ रनको योगदान दिएका कप्तान रोहित पौडेल जुनैद सिद्दिकीको सिकार बने । यो खेलबाट विनोद भण्डारीले अर्धशतकसहित एकदिवसीय क्रिकेटमा कमब्याक गरे। ५६ रनको योगदान गरेको विनोदको यो दोस्रो ओडिआई अर्धशतक हो ।
यता दिपेन्द्रले ९४ बलमा शतक पूरा गरे। उनले गुल्सन झासँग एक सय २ रनको शतकीय साझेदारी गरे। गुल्सनले ३८ बलमा ४४ रन बनाएर दिपेन्द्रलाई बलियो साथ प्रदान गरेका थिए। नेपालविरुद्ध यूएईका जुनैद र अजय कुमारले समान २-२ विकेट लिएका थिए।
जवाफमा यूएईका अदिब उसमानी १४ र आर्यन्स शर्मा ३३ रनमा आउट भएका थिए। तेस्रो नम्बरका मुहम्मद साहदादले ६ बाउन्ड्रीसहित ६५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले हरप्रित सिंहसँग ८० रनको पार्टनरसिप गरेका थिए। हरप्रितले ४१ रन बनाए।
अक्षदीप नाथले अन्तिमसम्म टिकेर ३६ रन बनाए पनि आफ्नो टिमलाई जितसम्म पुर्याउन सकेनन्। २६ बलमा ४९ रन जोडेर लक्ष्य नजिक पुगेको अवस्थामा खुजाइमा तन्विर आउट भए। उनी आउट हुँदा यूएईले दुई सय ४४ रन बनाइसकेको थियो।
डेथ ओभरमा भने नेपाली बलरले दबाब बढाउँदै लक्ष्य रक्षा गर्न सफल भएका हुन्। सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल र नन्दन यादवको नाममा समान दुई दुई विकेट रह्यो। आजको जितसँगै नेपालले २३ खेलबाट १६ अंक बनाएको छ।