रुकुम पुर्व । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो पूर्वी रूकुम ।
यहाँका पाटन लेक र हिमालको सौन्दर्यको बयान शब्दमा गर्नै कठिन छ । अनि त्यो भूगोलसँग यहाँका किसान र पशुपालकले गाँसेको मितेरी त साँच्चिकै लोभलाग्दो छ ।
यतिबेला म रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं ५ स्थित एउटा यस्तो सुन्दर पाटनमा आइपुगेको छ । यो पाटनको नाम हो- ठाकुर ।
चारैतिर अग्ला पहाडको पहरा अनि विच्चमा फराकिलो चौर । पशु-चौपायाको स्यहारमा व्यस्त गोठालाहरुको चहलपहलसँगै कतै गाईवस्तु चरिरहेका त कतै घोडाहरु रमाईरहेका ।
भैसी दुहेर दुध संगालिरहेका किसानको जागर र उमंग पोखिएको यो ठाउँ किसानका लागी गोठालो बस्ने थलो हो, पशु-चौपायाका लागी पेट पर्ने पाटन हो अनि हामीजस्तै घुमन्तेहरुका लागि आनन्दको श्वास फेर्ने अनि उत्साहका पैतला राख्ने भु-स्वर्ग हो ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ५ मा अवस्थित ठाकुर ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र पर्दछ । जेठ महिनामा यहाँ उक्लिएका रुकुम पूर्व र बागलुङतिरका गोठालाहरु असोजपछि भने चिसो छल्न र चाडबाडमा रमाउन मुल घरतिरै बसाई सर्छन् ।
हिउँदमा हिउँले ढाकिने ठाकुर पाटन समुन्द्री सतहदेखी ३३ सय मिटर उचाईमा अवस्थित छ । रुकुम पूर्वको हुकाम र तकसेरातर्फबाट अनि बागलुङको ढोरपाटनतर्फबाट एक दिनको पैदल यात्रा गरेपछि सजिलै यहाँसम्म आउन सकिन्छ ।
यहाँ पुगेपछि बस्नका लागी स्थानिय होटेलको पनि प्रवन्ध गरिएको छ । यो ठाउँलाई पर्यटकिय रुपमा विकास तथा विस्तार गरेर प्रचार-प्रसार गर्न स्थानिय सरकारले बिभिन्न पहलहरु अघि बढाएको छ । तर राष्ट्रिय निकृञ्ज अन्तरगत पर्ने भएकाले यो काम उति सहज भने छैन ।
मनोरम भुगोलमा सुन्दर प्रकृती, यही कोरिएको छ मानव जीवनको बलियो आकृती । यी सबै कुराहरुलाई नजिकबाट अनुभूत गर्न पुग्नैपर्ने ठाउँ हो, रुकुम पूर्वको यो ठाकुर पाटन ।