पोखरा । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गर्छ ।
अन्नपूर्ण क्षेत्रमा आर्थक वर्ष २०८०/८१ को तुलनामा गत आवमा पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको छ । समग्रमा पर्यटकको संख्या बढेपनि तेस्रो मुलुकका पर्यटकको आगमन भने घटेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र-एक्यापको तथ्याङकअनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकामा २०८१/८२ मा एक सय ७२ देशका दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटकले भ्रमण गरे ।
यसअनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा ५५ हजार ९ सय ३३ पर्यटक बढेका हुन् । २०८०/८१ मा सार्क राष्ट्रबाट एक लाख १७ हजार ८ सय ८४ पर्यटक अन्नपुर्ण क्षेत्रमा आए भने गत वर्ष एक लाख ५७ हजार ७ सय ८६ पर्यटक आए यो करिब ४० हजारले बढी हो । तर तेस्रो मुलुकका पर्यटक भने घटेका छन् ।
२०८०/८१ मा एक लाख ३२ हजार पर्यटक तेस्रो मुलुकबाट आएका थिए भने गत वर्ष एक लाख २० हजार तीन सय २७ जना आए । यो संख्या झन्डै १२ हजारले कम हो । अन्नपुर्ण क्षेत्रमा आउने पर्यटक मध्ये सबैभन्दा धेरै भारतीय छन् भने दोस्रोमा चिन, तेस्रोमा अमेरिका, चौथोमा फान्स र पाचौँमा बेलायतका छन् ।
७ हजार ६ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ गाँउपालिकाका ८७ वडाका विश्व प्रसिद्ध स्थानहरू पर्छन् ।
साहसिक, धार्मीक, सांस्कृतिक र प्रकृति प्रेमीका लागि अन्नपूर्ण क्षेत्र उत्कृष्ट मानिन्छ । सार्क राष्ट्रबाहेकका पर्यटक घट्नुको प्रमुख कारणमा पुराना पुर्वाधार, पदमार्गको विनास, नयाँ गन्तव्यको पहिचान नहुनु, कोरोना प्रकोपको प्रभाव, झण्झटिलो नीति, महंगो हवाई भाडालगायत कारण मानिएको छ ।
विशेष गरी अन्नपुर्ण क्षेत्रमा गएका अधिकांश पर्यटक पोखरा आउँछन । अन्नपुर्ण क्षेत्रमा पर्यटक आगमनको प्रत्यक्ष प्रभाव पोखराको पर्यटन क्षेत्रमा समेत पर्दछ । यस वर्ष पनि सिजनकै सुरूमा जेन-जी आन्दोलनका कारण विदेशी पर्यटक आउन सकेनन भने भएका ४० प्रतिशत बुकिङ्ग रद्द गरे ।
सिजनका बेला यस्ता गतिविधीले तेस्रो मुलुकका मात्रै हैन अन्य मुलुकका पर्यटक आगमनमा पनि पक्कै असर पर्ने देखिन्छ ।