अफ्रिकन स्वाइन फिभरको कहर, पाँच सय बंगुर मरे

डेढ करोडको बंगुर फार्म संकटमा
भाद्र ८, २०८३ |हरिश्चन्द्र बाग
अफ्रिकन स्वाइन फिभरको कहर, पाँच सय बंगुर मरे

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिँदा एउटै फार्मका पाँचसय बंगुर मरेका छन्। 

करिब डेढ करोड रुपैयाँ लगानीमा सञ्चालन गरिएको फार्ममा ठूलो संख्यामा बंगुर मरेपछि सञ्चालक आर्थिक संकटमा परेका छन्। संक्रमण देखिएको हप्तादिनमै फार्मका अधिकांश बंगुर मरेका हुन् ।

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका-१ मा रहेको सूर्य किरण बहुउद्देश्यीय पशु फार्म । डेढ करोड रुपैयाँ लगानी गरेर सञ्चालन गरिएको यही बंगुर फार्ममा अहिले अफ्रिकन स्वाइन फिभरले ठूलो क्षति पुर्‍याएको छ । साउन २९ गतेदेखि बंगुरमा संक्रमण देखिन थालेको थियो । 

त्यसको एक हप्तामै करिब पाँच सयवटा बंगुर मरिसकेका छन् । फार्म सञ्चालनका लागि नेपाल एसबीआई बैंकबाट करिब एक करोड रुपैयाँ ऋण लिइएको थियो भने ५० लाख रुपैयाँ व्यक्तिगत लगानी गरिएको फार्म सञ्चालक देवबहादुर खड्काको भनाइ छ। 

यति ठूलो लगानीमा सञ्चालन गरिएको व्यवसायमा एकाएक ठूलो क्षति भएपछि लगानीसँगै व्यवसाय नै जोखिममा परेको छ । अफ्रिकन स्वाइन फिभर लागेका बंगुरमा उच्च ज्वरो आउने, खाना नखाने, कमजोरी हुने र अचानक मृत्यु हुनेजस्ता लक्षण देखिने पशु चिकित्सक बताउँछन् । 

यस रोगको प्रभावकारी उपचार तथा खोप हालसम्म उपलब्ध नभएकाले संक्रमण नियन्त्रण र जैविक सुरक्षामा विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । मरेका बंगुरबाट थप संक्रमण फैलिन नदिन नगरपालिकाले सुरक्षित रूपमा व्यवस्थापन गर्ने काममा सहयोग गरिरहेको जनाइएको छ।

अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट कञ्चनपुरका अन्य बंगुरपालक किसानसमेत त्रसित बनेका छन् । अहिले एउटा फार्ममा मात्रै सीमित रहेको संक्रमण अन्य फार्म तथा किसानका बंगुरसम्म पुग्न नदिन जैविक सुरक्षा, आवतजावत नियन्त्रण र संक्रमित क्षेत्रको निगरानीलाई प्राथमिकता दिनुपर्ने देखिएको छ । 

यसअघि यही रोगले कञ्चनपुरका अरु बंगुरपालक किसानलाई पनि व्यवसायबाटै विस्थापित गरिसकेको छ । महेन्द्रनगरका बंगुरपालक किसान बलराम चौधरीले गत चैतमा अफ्रिकन स्वाइन फिभरकै कारण ठूलो क्षति व्यहोरेपछि बंगुरपालन व्यवसाय नै छाड्नु पर्यो । 

रोगका कारण भएको क्षतिपछि व्यवसाय निरन्तरता दिन नसकेको किसान चौधरीको भनाइ छ । अर्कोतर्फ, ठूलो क्षति व्यहोरेका किसानका लागि पशु बीमा भए राहतको आधार बन्न सक्ने भए पनि धेरै बंगुरपालक किसानले बीमा गराएका छैनन् । बीमा नगरेका कारण रोगबाट भएको क्षतिपूर्तिबाट उनीहरू वञ्चित हुने अवस्था छ । 

कञ्चनपुरमा अझै पनि पशु तथा बाली बीमाको अभ्यास पर्याप्त रूपमा हुन सकेको छैन । रोगको संक्रमण नियन्त्रणका लागि तत्काल जैविक सुरक्षा, संक्रमित फार्मको निगरानी र मरेका बंगुरको सुरक्षित व्यवस्थापन आवश्यक छ । तर, किसानको लगानी जोगाउन दीर्घकालीन रूपमा पशु बीमा, जोखिम न्यूनीकरण र प्राविधिक परामर्शमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।