हाइकिङ गन्तव्य बन्दै सिन्धुपाल्चोकको सुरसिंह झरना, पूर्वाधार निर्माण र प्रचार-प्रसारको भने अझै आवश्यकता

भाद्र २२, २०८२ |कमला पाख्रिन
हाइकिङ गन्तव्य बन्दै सिन्धुपाल्चोकको सुरसिंह झरना, पूर्वाधार निर्माण र प्रचार-प्रसारको भने अझै आवश्यकता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा डेढ सय मिटरभन्दा माथिबाट झर्ने सुरसिहं झरना आन्तरिक पर्यटकको हाइकिङ गन्तव्य बनेको छ । 

शेर्पा, तामाङ र हृयोल्मो बस्ती हुँदै हरियाली डाँडाकाँडा हुँदै पुगिने सुरसिंह झरनाको सुन्दरता नजिकबाट अनुभव गर्न चाहने पर्यटकको लागि नयाँ हाइकिङ गन्तव्य बनेको हो ।

झर्झराउँदो पानीसहित पहाडबाट झर्दै गरेको झरना, चारैतिर हरियालीको सुन्दर संगम र फेदमा बनेको प्राकृतिक पोखरी, यी सबैको संयोजनले सुरसिंह झरनालाई लोभलाग्दो गन्तव्य बनाइदिएको छ । 

फेदसम्म पुग्ने जो-कोही पर्यटक झरनाको सुन्दरतामा मोहित भएर रमाउँछन् । पानीको छहरासँगै सेल्फी खिच्नेहरूको बाक्लो जमात देखिन्छ भने पोखरीमा पौडी खेल्दै रमाउनेहरूको उत्साह उस्तै छ ।

यहाँसम्म सवारीसाधनमार्फत पनि सजिलै पुग्न सकिन्छ । काठमाडौं नजिकैको गन्तव्य भएकाले कोलाहलबाट टाढा बस्न चाहनेहरू हाइकिङको मज्जा लिंदै झरना घुम्न आउने गरेका छन् । 

पदमार्गमा भेटिने अरू साना-ठूला झरनाका मनमोहक दृश्यहरूले सबैलाई लोभ्याउँछ । प्राकृतिक सुन्दरतासँगै यात्राको रोमाञ्चक अनुभव गर्न चाहनेका लागि सुरसिंह झरना अहिले लोकप्रिय बनेको छ ।

गत वैशाखसम्म ओझेलमा रहेको हेलम्बुस्थित सुरसिंह झरनामा स्थानीय तहले पूर्वाधार निर्माण र प्रचार-प्रसार थालेपछि पर्यटक बढ्न थालेका हुन् । झरना र फेदमा बनेको पोखरी हेर्न र पौडी खेल्न मात्र होइन, साहसिक खेल क्यानोनिङका लागि पनि यस क्षेत्रले राम्रो सम्भावना बोकेको छ । तर कच्ची हिले सडकका कारण पर्यटकले कठिनाइ भोग्नुपरेको छ ।

नयाँ पर्यटकीय गन्तव्यको विकाससँगै सिन्धुपाल्चोकको प्राकृतिक सुन्दरताले नयाँ पहिचान दिइरहेको छ । सडक र पहुँचमार्ग सुधार भएमा सुरसिंह झरना पर्यटकका लागि पनि आकर्षक गन्तव्य बन्न सक्ने सम्भवना बोकेको ठाँउ हो ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।