रूकुम पूर्व । रूकुम पूर्व र बागलुङ जिल्लाको सिमास्थल चौरी लेकमा घुम्न पुग्नेको संख्या दिनानुदिन बढिरहेको छ । समुन्द्री सतहदेखी करिब ४ हजार मिटरसम्मको उचाईमा अवस्थित यो लेकको मनोरम् प्रकृती र सुन्दर बुकीफुलसँग रमाउन आन्तरिक पर्यटक त्यहाँसम्म पुग्ने गरेका छन् ।
मध्यपहाडी लोकमार्गबाट उत्तरतर्फ रहेको यो लेकसम्म जाने गोरेटो बाटो पनि सहज भएपछि यो वर्ष घुम्नेहरू बढेको रूकुम पूर्वका फोटो पत्रकार तथा पर्यटनकर्मी दिलचन बुढा बताउँछन्।
‘गतबर्ष पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको सहयोगमा यहाँ गोरेटो बाटो निर्माण भएपछि आवागमनमा सहज भयो यसकारण पनि यसवर्ष धेरैजना घुम्नका लागी आउनुभयो ।’ उनले भने, ‘रूकुम पूर्व सँगै धेरै टाढा-टाढाबाट पनि पर्यटकहरू यहाँसम्म आउने गर्नुभएको छ । पहिला-पहिला गोठाला र घुम्न २-४ जना हुन्थे हुन्थे भने यसवर्ष विदाको दिन त लर्को हुन्छ ।’
मध्यपहाडी लोकमार्गबाट करिब ३ घण्टा पैदल यात्रा गरेपछि चौरी लेकसम्म पुग्न सकिन्छ । त्यहाँ घुम्नका लागि जुनसुकै मौसममा पनि उपयुक्त हुने र मौसम अनुसारको सुन्दरता हुने गरेको छ । तर बर्खा याममा गोठालाको चहलपहलसँगै भेडाबाख्राको चरिचरनले त्यहाँको सुन्दरतालाई जीवन्त बनाउने स्थानिय भेडी गोठाला हरि सुनारले बताए ।
साथै यो मौसममा खासगरी असार मध्येदेखी साउन पहिलो सातासम्म अनेकानेक बुकीफूलहरू फूल्ने हुदाँ अरूबेला भन्दा यो याममा मान्छेहरू धेरै आउने गरेको सुनारको भनाइ छ ।
मध्यपहाडी लोकमार्गमा सवारी छोडेर छोटो-मिठो ट्रेकिङमा रमाउँदै प्राकृतिक सुन्दरतामा झुम्न चौरी लेक सबैभन्दा उपयुक्त गन्तव्य भएको त्यहाँ घुम्न पुगेका जाजरकोटका सरोज ओली बताउँछन् ।
रूकुम पूर्व र बागलुङको सिमानामा अवस्थित चौरी लेक पुगेर हिमालसँगै अग्ला पहाड र सुन्दर लेकाली पटन एवं ढोरपाटन सिकार आरक्षको दृश्यावलोकन गर्न सकिन्छ ।