कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा अवस्थित बन्धाताल क्षेत्रको पर्यटकीय विकासका लागि पाँच करोड ४३ लाख रूपैयाँ लागतमा भौतिक पूर्वाधार निर्माण कार्य सुरू गरिएको छ ।
बेलौरी नगरपालिकाको गौरवको योजनाअन्तर्गत सञ्चालनमा ल्याइएको बन्धाताल सुधार परियोजनाले ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको छ ।
सरकारले २०७५ सालमा घोषणा गरेका सय वटा नयाँ पर्यटकीय गन्तव्य स्थलहरूमध्ये पर्न सफल कञ्चनपुरको बेलौरीस्थित बन्धातालको विकासका लागि हाल प्रारम्भिक संरचनाहरू निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । नगर गौरवको योजनामै समेटेर बन्धाताललाई बेलौरीको चिनारीका रूपमा विकास गर्ने दाबी बेलौरी नगरपालिकाको छ ।
५ करोड ४३ लाख रूपैयाँ लागतको पूर्वाधार निर्माण योजना यसै वर्ष जेठ ९ गते सम्झौता भई सुरू गरिएको हो भने आगामी २०८३ असार मसान्तसम्म सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ । निर्माण कार्य दाउत निर्माण सेवा र भूमिराज कन्स्ट्रक्सनले संयुक्त रूपमा गरिरहेका छन् ।
निर्माण कम्पनीहरूले तोकिएको म्यादभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । बेलौरी नगरपालिकाका इन्जिनियर जगदीश जोशीका अनुसार बन्धाताल सुधार योजना २०७९/०८० मा प्रस्ताव गरिएको हो । विस्तृत परियोजना प्रतिवेदनअनुसार तालको पूर्ण विकासका लागि झण्डै २७ करोड रूपैयाँ लागत अनुमान गरिएको छ ।
स्थानीय बासिन्दाकाअनुसार गोलो घेरामा फैलिएको भएकाले तालको नाम "बन्धाताल" रहन गएको हो । त्यहाँ विभिन्न प्रजातिका माछा, जलपक्षी र चराचुरूङ्गीको अवलोकन गर्न सकिन्छ ।
२७ विघा क्षेत्रफलमा फैलिएको यो ताल संरक्षणको अभावमा पछिल्ला वर्षहरूमा अतिक्रमणको चपेटामा परेको छ । उत्तरतर्फबाट वर्षतको समयमा बगेर आउने बालुवा र माटोले ताल पुरिदै गएको छ भने सरसफाइको अभावमा जलकुम्भीले ताल भरिएको छ ।
नगरपालिकाले विश्वास लिएको छ कि परियोजना सम्पन्न भएपछि बन्धाताल क्षेत्र पर्यटन, व्यापार र पूर्वाधार विकासको प्रमुख केन्द्र बन्नेछ ।