युनेस्कोले लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटायो

असार २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
युनेस्कोले लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटायो

काठमाडौं । शिक्षा, विज्ञान तथा संस्कृतिको क्षेत्रमा काम गर्दै आएको संयुक्त राष्ट्रसंघीय संगठन-युनेस्कोले विश्व सम्पदास्थल लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटाएको छ ।

फ्रान्सको पेरिसमा भइरहेको युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७औं सत्रले लुम्बिनीमा संरक्षणमैत्री र सुधारका काम भइरहेकाले एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।

बुल्गेरियाका प्राध्यापक निकोले नेनोवको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले लुम्बिनीको समग्र अवस्था बुझ्न ‘रिएक्टिभ मनिटरिङ मिसन’ पठाउने निर्णय समेत गरेको छ । यो मिसनले स्थलगत अवलोकन गरेर दिने प्रतिवेदनका आधार पुनः लुम्बिनी खतराको सूचीमा पर्ने वा नपर्ने निर्णय हुने सत्रमा सहभागी लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताउनुभयो ।

यसअघि सन् २०२२ मा वर्ल्ड हेरिटेज सेन्टर र सम्पदा क्षेत्रको संरक्षणमा काम गर्ने संस्था इकोमसले सम्पदाविज्ञ रोलेन लिन र प्राध्यापक कारिया संलग्न रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएको थियो । उनीहरूले दिएको प्रतिवेदनका आधारमा सन् २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखिएको थियो ।

यसपछि लुम्बिनीलाई खतराको सूचीबाट हटाउन विभिन्न पहल गरिएको थियो । लुम्बिनी संरक्षणका लागि बनाइएको एकीकृत व्यवस्थापन संरचना र खण्डित रणनीतिक योजनालाई युनेस्कोले सकारात्मक मानेको जनाइएको छ । 

यस्तै लुम्बिनीमा पुरातात्त्विक वस्तुको संरक्षण, आगन्तुक व्यवस्थापन साथै अशोक स्तम्भको संरक्षण, सरसफाइ र सिपेज हुन नदिन प्रविधि प्रयोग गरिएकामा युनेस्कोले राम्रो मानेको छ ।

लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटाउन गहन, विस्तारित र नतिजामुखी योजना बनाएर काम गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.