गोरखा । घुमफिरको संस्कृति विकास भएसँगै स्वदेशी विदेशी पर्यटक पनि गाउँघरहरूमा समेत पुग्न थालेका छन् ।
कच्ची सडक हुँदै पुग्न सकिने गोरखाको धार्चे गाउँपालिका-५ गुम्दा गाउँ पछिल्लो समय हावापानी र स्थानीय संस्कृतिका कारण नयाँ पर्यटकीय गन्तव्य बनेको छ । गोरखाको धार्चे गाउँपालिका-५ मा डाँडाको भिरालो अवस्थितिमा ३ सय ५० घर एकैठाउँ झरूप्प परेको गाउँ गुम्दा ।
हिमालको दृश्यावलोकन र हावापानीको कारण चिसो मौसम त छदैछ । गुरूङ संस्कृति र यहाँका रहनसहनका कारण पछिल्लो समय गोरखाको गुम्दा गाउँ पर्यटकको रोजाइ बनेको छ । गुम्दा आइपुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई स्थानीय महिला समूहले आफ्नो संस्कृति अनुसार स्वागत गर्दछ ।
यहाँ आउने पर्यटकका लागि स्थानीय उत्पादनको खानेकुराका साथै बस्नका लागि होमस्टे रहेको छ । पर्यटक आउन थाले पछि वडाले महिला समूहलाई होटल तथा होमस्टे व्यवस्थापन लगायतका तालिम समेत दिएको छ ।बाटो घाटोलगायतका पूर्वाधार विकास हुन सकेमा ग्रामीण पर्यटन स्थानीयको आर्थिक स्रोत बन्न सक्छ ।