रूकुम पूर्व । रूकुम पूर्वको पर्यटकीय गाउँ हो मैकोट । पुथाउत्तरगंगा गाउँपालिका-१ मा अवस्थित यो गाउँको मौलिक सुन्दरताले जो कोहीलाई पनि तान्छ । पछिल्लो समय सडक पुगेपछि यहाँसम्मको यात्रा सहज पनि भएको छ । खानेपानीको व्यवस्था र भर्खरै खुलेका होमस्टे, होटलहरूले सिंगो मैकोट पर्यटकको स्वागतमा तम्तयार भएको भान हुन्छ ।
मध्य जेठमै वरिपरी हरियाली छाउँदैंछ । बारीमा चैतमा रोपेका मकै हलक्क बढेका छन । अनि स्याउले लटरम्म फल लगाएको छ । न जाडो, न गर्मी ठिक्कको मौसमसँगै रूकुम पूर्वको मैकोट गाउँ यतिबेला मनोरम् छ । हिउँ र हिउँदे वर्षा प्रयाप्त नभएपनि चैतयता पटक-पटक परिरहेको पानीले जमिन सिंचित भएको छ । किसानमा खुसी छाएको छ ।
प्रायः मान्छेहरू यार्चागुम्बु टिप्न बुकी उक्लिएका कारण गाउँमा भने यतिबेला खासै चहलपहल छैन । मकै रोपेर गएका उनीहरू असार मध्यतिर मात्रै फर्किनेछन् ।
यसअघि मैकोट जादाँ घोडा-खच्चडको आवाज सुनिन्थ्यो । अब भने त्यो अलि कम भएको छ । किनभने मैकोटसम्म मोटर बाटो पुगेको छ । झण्डै आधा दिन पैदल हिडेपछि मैकोट पुगेका जो कोहीलाई पनि गाडीमा सरर... त्यहाँसम्म पुग्न पाउदाँ खुसी नलाग्ने कुरै भएन ।
सहिद मार्ग भएर तकसेरा अनि अरू सुन्दर गाउँवस्ती र पाखापखेरा छिचोलेर भीमकाय पहाडको फेदीमा निर्माणधीन कच्ची सडकमा यात्रा गर्न त्यति असहज छैन । तर हुकामदेखी तल बत्वा खोलामा पुल नहुँदा झरी अलि धेरै पर्यो भने खोलामा पानी बढ्छ अनि मोटर तार्न मुस्किल पर्छ । साथै यो खोलाबाट मैकोटसम्म उक्लिने बाटो पनि उति सजिलो छैन । केही महिनाअघि मात्रै खोलिएको बाटो अलि ठाडो भएकाले मैकोटसम्म उति सहज छैन ।
मैकोट, घुम्न आउने पाहुनालाई स्वागत गर्न तम्तयार भएका बसेको जस्तो लाग्छ । त्यहाँ ग्राम्य झल्को दिने होम स्टे र होटेल पनि सञ्चालनमा छन । समग्रमा भन्नुपर्दा मैकोटको मुहारमा विकासको लाली छाउँदैंछ । यसलाई यही गतिमा अघि बढाएर जाने हो भने यसमा थप मोहकता थपिनेछ ।