रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा रहेको गोगनपानी गुम्बा डाँडा जिल्लाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने गोगनपानी पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको हाे ।
गोगनपानी डाँडामा निर्माण गरिएको गुम्बा र दृश्य अवलोकनका लागि आउने आन्तरिक पर्यटक बढेको खाँडादेवी गाउँपालिका-५ का वडा अध्यक्ष मनोज पौडेलले बताउनुभयो ।
सदरमुकाम मन्थली-खाँडादेवी-सित्खा-काठमाडौँ सडकबाट नजिकै रहेको गोगनपानी डाँडामा फोटो खिच्ने, टिकटक बनाउने मानिसहरू आउने गरेका छन । यो डाँडाबाट सिङ्गो खाँडादेवी गाउँपालिका र छिमेकी गाउँपालिकाको दृश्यावलोकन गर्न सकिन्छ ।
आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेपछि स्थानीय सरकार तथा समाजसेवी विभिन्न व्यक्तिहरूको सहयोगमा गोगनपानी डाँडामा विभिन्न संरचनाहरू निर्माण गरिएको छ ।
सदरमुकाम मन्थलीबाट आधा घण्टा पक्की सडकको यात्रापछि पुगिने यो ठाउँमा परिवार नै घुम्न आउनेको सङ्ख्या पनि बढेको वडा अध्यक्ष पौडेलको भनाइ छ ।