पुनर्निर्माण सिकएसँगै बसन्तपुरको ९ तले दरबार सर्वसाधारणका लागि खुल्यो

जेष्ठ ६, २०८२ |नारायण किलम्बू
पुनर्निर्माण सिकएसँगै बसन्तपुरको ९ तले दरबार सर्वसाधारणका लागि खुल्यो

काठमाडौं । २०७२ को महाभूकम्पले क्षतिग्रस्त भएको काठमाडौंको वसन्तपुरस्थित ९ तले दरबार पुनर्निर्माणपछि सर्वसाधारणका लागि खुला गरिएको छ । चीन सरकारको सहयोगमा परम्परागत शैलीमा पुनर्निर्माण गरिएको ९ तले दरबार विश्व संग्रहालय दिवसको अवसर पारेर खुला गरिएको हो ।

२०७२ को भूकम्पले नौतले दरबारको माथिल्ला तीन तलामा पूर्ण रुपमा क्षति पुगेको थियो, जसलाई चीन सरकारको सहयोगमा परम्परागत शैलीमा पुनर्निर्माण गरिएको हो । विश्व संग्रहालय दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्री पाण्डेले दरवारको उद्घाटन गर्दै मूर्त, अमूर्त सम्पदाको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उद्घाटन भएसँगै ९ तल्ले दरबार मंगलबारदेखि सर्वसाधारणका लागि खुला भएको छ ।

काठमाडौं उपत्यकाको पुरातात्विक तथा सांस्कृतिक सम्पदामध्ये एक हो बसन्तपुरस्थति ९ तले दरबार । यहाँ पृथ्वीनारायण शाहदेखिका पूरातात्विक सामग्री संग्रहित छन् । यसका साथै काष्ठकला र अनुपम मूर्तिहरु समेत राखिएका छन् । निकट भविष्यमा ९ तल्ले दरवारमा रहेका सबै सङ्ग्रहालय खुला गर्ने तयारीमा रहेको पुरातत्व विभागले जनाएको छ । जसले गर्दा यो दरबार स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रसमेत बन्ने छ ।

९ तले दरबारभित्रको काष्ठकला र पुरातात्विक सम्पदा दुर्लभ एवं मनमोहक रहेको सर्वसाधारणको बुझाइ छ । धेरै वर्षपछि पुरानै स्वरुपमा दरबारको अवलोकन गर्न पाउँदा निकै खुशी भएको उनीहरु बताउँछन् ।

९ तल्ले दरवारको अवलोकनका लागि सर्वसाधारणलाई ५०, विद्यार्थीलाई २० र विदेशी पर्यटकसँग एक हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।