रामेछाप । जङ्गलमा ढकमक्क फुलेका विभिन्न जातका गुराँसले रामेछापको शैलुङ क्षेत्र अहिले रङ्गीचङ्गी बनेको छ ।
दोरम्बा शैलुङ गाउँपालिका-१ डडुवाको शैलुङ क्षेत्र यो सिजनमा शैलुङ घुम्न आउने पर्यटकको लागि गुराँसको फूल मुख्य आकर्षण बनेको छ । गुराँसका विभिन्न जातका फूलका दृश्यावलोकन गर्न चाहनेको लागि यो सिजन शैलुङ भ्रमणको अति उपयुक्त मानिन्छ ।
नेपालमा पाइने ३१ प्रजातिका गुराँस मध्ये २१ भन्दा बढी जातका गुराँस शैलुङको जङ्गलहरूमा पाइने दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका स्थानीय दावासङ्बु शेर्पाले बताउनुभयो । उहाँका अनुसार शैलुङमा लालीगुराँस, चिमल लगायतका विभिन्न जातका गुराँस फुल्ने गर्दछन् । यहाँको जङ्गलमा चैत लागेपछि फुल्ने विभिन्न जातका गुराँस र चिमलले वैशाख महिनाभरि शैलुङको जङ्गललाई ढकमक्क बनाउँछ ।
रङ्गीचङ्गी रूपमा फुलेका गुराँस र चिमलले यो सिजनमा शैलुङ क्षेत्र युवा युवतीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । शैलुङ क्षेत्रका जङ्गलमा हिजो आज फोटो खिच्ने, टिकटक, भिडियो र भ्लग बनाउने युवा युवतीहरूको भिड नै लाग्ने गरेको छ ।
शैलुङ क्षेत्रको जङ्गलमा रङ्गीचङ्गी रूपमा फुलेका लालीगुराँस तथा चिमलले रामेछाप र दोलखाको सिमानामा पर्ने ऐतिहासिक धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थल शैलुङ डाँडामा पनि पर्यटकको चहलपहल बढेको छ ।
शैलुङ क्षेत्रमा क्षणमा कुहिरोले ढाक्ने त क्षणमा नै सूर्यको किरणले नजिकैको हिमाल चाँदी जस्तै टल्कने र चौँरी चरेको दृश्यले शैलुङ पुग्ने सबैको मन लोभ्याउँछ ।