एनपीएलको लीग चरणका सबै खेल सकिए, अन्तिम खेलमा जनकपुरमाथि कर्णालीकाे जित

प्ले अफका खेल मंगलबारदेखि
मंसिर २१, २०८२ |खेल ब्युरो
एनपीएलको लीग चरणका सबै खेल सकिए, अन्तिम खेलमा जनकपुरमाथि कर्णालीकाे जित

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको लिग चरणका सबै खेल सकिएका छन्। 

आइतबार भएको खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई तीन विकेटले हराएसँगै लिग चरणका खेल सकिएका हुन्। दुई दिनअघि नै प्ले अफमा पुग्ने टिमको टुंगो लागिसकेका कारण आइतबारको खेलको नतिजाले आगामी खेलको समीकरणमा कुनै असर गर्ने छैन।

टीयू क्रिकेट रंगशालामा टस जितेको जनकपुरले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। निर्धारित २० ओभरमा नौ विकेट गुमाएर उसले एक सय २९ रन बनाएको हो। ओपनर इमरान शेखले ३२ बलमा सर्वाधिक ३३ रनको योगदान गरे। तर मार्क वाट चार रनमा आउट भए। प्रियांक पञ्चाल १६, गुल्सन झा १९, विलियम बोसिस्टो १५ र नजिबुल्लाह जद्रान १३ रनमा आउट भए। तर उनीहरुले आफ्नो इनिङ्सलाई ठूलो स्कोरमा कन्भर्ट गर्न सकेनन्। 

पवन सर्राफ एक र अर्जुन घर्ति चार रनमा आउट भएका थिए। सोमपाल कामीले अविजित १८ रनको योगदान गरे। जनकपुरका ललित राजवंशी र आदित्य महताले समान २-२ विकेट लिए भने संगीथ कोरे, अनिल शाह र माज सदाकतको नाममा एक-एक विकेट रह्यो। 

दास्रो इनिङमा बोसिस्टो, वाट र पवनले शीर्ष क्रमका चार खेलाडीलाई आउट गराएपछि जनकपुरले झिनो हार ब्यहोर्यो। आसिफ र अनिल शून्यमा आउट भए भने सदाकतले १२ तथा मयन यादवले नौ रन जोडे। पाँचौ नम्बरका संजय कृष्णमुर्तिले ३९ बलमा ५१ रन जोड्दै आफ्नो टोलीलाई जितनजिक पुर्याएका थिए। तर उनलाई नन्दन यादवले अन्तिम ओभरमा क्याच आउट गराए। 

संगीथ पनि २५ रनमा बाहिरिएका थिए। जान निकोल लोफ्टी इटनले १३ रनको योगदान गर्न सके। सोमपाल कामीको नाममा पनि एक विकेट रह्याे। आजको हारसँगै पहिलो स‌‌ंस्करणको च्याम्पियन टिम जनकपुरले अंक तालिकाको पुछारमा रहेर लिग समापन गरेको छ। लिगमा चितवन सातौं, कर्णाली छैटौँ र पोखरा पाँचौ स्थानमा रहे।