गत असोज र कात्तिकको वर्षाका कारण कृषि क्षेत्रमा ६ अर्ब ६७ करोड रूपैयाँको क्षति

मंसिर २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
गत असोज र कात्तिकको वर्षाका कारण कृषि क्षेत्रमा ६ अर्ब ६७ करोड रूपैयाँको क्षति

काठमाडौं । गत असोज र कात्तिकको वर्षाका कारण कृषि क्षेत्रमा ६ अर्ब ६७ करोड रूपैयाँको क्षति भएको छ । 

वर्षाका कारण मधेश प्रदेशमा मात्रै ३ अर्ब २२ करोड ४७ लाख रूपैयाँको क्षति पुगेको छ । मधेशमा धान, तरकारी, मत्स्यपालन, उखुलगायतमा बढी क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । करिब १० हजार हेक्टरमा लगाइएका बालीमा असर पर्दा मधेशमा क्षति बढी भएको हो ।

१२ करोड रूपैयाँ बराबरको तरकारी खेतीमा असर परेको छ । ७६ करोडको उखु बालीमा नोक्सानी भएको छ । धान बालीमा मात्रै करिब ७१ करोडको क्षति छ । कोशी प्रदेशमा भने सबैभन्दा बढी क्षति धान बालीमा भएको छ । कोशी प्रदेशमा १२ हजार हेक्टरमा लगाएको धानबालीमा क्षति हुँदा २ अर्ब १ करोड रूपैयाँ बराबरको नोक्सानी भएको मन्त्रालयले जानकारी दिएको छ । धानबालीको समग्र क्षति २ अर्ब ६६ करोड छ ।

त्यस्तै तरकारी मात्रै १ अर्ब २५ करोड रूपैयाँको नोक्सान भएको छ । कोशी, मधेश र बागमती प्रदेशमा १६ करोड रूपैयाँभन्दा बढीको पशुपन्छी, मत्स्य तथा घाँसखेतीमा क्षति भएको छ । २१ हजार हेक्टरमा लगाइएको तरकारी, आलु, केरा, कोदो, दलहन र तेलहन बालीमा क्षति पुगेको छ । 

यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई राहत दिलाउन पहल गरिरहेको जनाएको छ । मन्त्रालयले पालिकामार्फत सशर्त अनुदान दिने व्यवस्था मिलाउन लागेको हो । त्यस्तै कात्तिक १५ देखि १७ गतेसम्म बेमौसमी वर्षाबाट बागमती प्रदेशको चितवनमा १ करोड ९७ लाख रूपैयाँ बराबरको आलुमा नोक्सानी भएको छ । 

त्यस्तै दोलखामा २ लाख २९ हजारको कोदोमा असर पारेको छ । चितवनमा मात्र ४० लाख बराबरको दलहन र तेलहन बालीमा नोक्सानी परेको छ । प्रभावित पाँच प्रदेशमा १ सय ९४ हेक्टर क्षेत्रमा लगाइएको फलफूल खेतीमा असर गर्दा ५६ करोड ८८ लाख रूपैयाँको क्षति भएको छ । 

त्यस्तै १४ हेक्टर जमिनमा लगाइएको चिया खेतीमा असर पर्दा ६ लाख ८ हजारको क्षति भएको मन्त्रालयले बताएको छ । धेरै किसान बालीको बीमा नगरेका कारण सरकारी राहतको पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.