एनपीएल लिग चरण समाप्त : कहाँ चुक्यो पोखरा, चितवन, कर्णाली र जनकपुर ?

मंसिर २१, २०८२ |सुवास रोकाया
एनपीएल लिग चरण समाप्त : कहाँ चुक्यो पोखरा, चितवन, कर्णाली र जनकपुर ?

काठमाडौं । एनपीएलमा आइतबार कर्णाली याक्सले जनकपुरलाई पराजित गरेसँगै लिग चरणका खेल सकिएका छन् । 

अब मंगलबारबाट प्लेअफका खेल सुरू हुनेछन्, जहाँ पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका खेल सकिनुअघि नै सुदूरपश्चिम, विराटनगर, काठमाडौं र लुम्बिनीले प्लेअफ यात्रा तय गरिसकेका छन् भने पोखरा एभेन्जर्स, चितवन राइनोज, कर्णाली याक्स र जनकपुर बोल्ट्स बाहिरिइसकेका छन् । पोखराबाहेक अन्य टिमले गत सिजन प्ले अफ खेलेका थिए । आज हामी प्रतियोगिताबाट बाहिरिएका चारवटै टोलीको नतिजाको कारण उजागर गर्नेछौं ।

लिग चरणका २८ खेलपछि अब एनपीएलमा प्लेअफ र फाइनल गरी ४ खेल मात्र बाँकी छन् । पोखरा एभेन्जर्स, चितवन राइनोज, कर्णाली याक्स र जनकपुर बोल्ट्सले प्लेअफमा स्थान बनाउन सकेनन् । यो सिजनमा धेरै आशा बोकेका यी टोली प्लेअफको ढोकाभन्दा बाहिर रहँदा फ्ल्डलाइटको उज्यालोलाई मिस गर्ने छन् र आफ्नो अर्को खेलका लागि तेस्रो सिजनसम्मको प्रतिक्षा गर्नेछन् ।

पोखराको यस सिजनको यात्रा पनि विशेष हुन सकेन । लगातर २ सिजन प्लेअफसम्म पुग्न नसकेको एकमात्र टोली पोखराले एक टिमका रूपमा खास प्रदर्शन गर्न सकेन । एडम रोसिंग्टनले ७ खेलमा १ शतक र २ अर्धशतक सहित ३ सय २३ रन बनाएर हालसम्म प्रतियोगिताको शीर्ष रनकर्ताका रूपमा आफुलाई स्थापित गरेपनि अन्य खेलबाट साथ पाउन सकेनन् । 

धनञ्जय लक्ष्मणले ३ इनिङ्समा १० विकेट लिए पनि उनी टिममा निकै ढिला गरी सामेल भए । नियमित रुपमा पावरप्लेमा विकेट गुमाउनु, डेथ ओभरमा कमजोर बलिङ र जिमी निसम लगायतका विदेशी खेलाडीले बीचमै लिग छोड्नु, नेपाली खेलाडीको फितलो प्रदर्शन र टिम प्रदर्शनमा एकरूपता नहुनु पोखराको प्लेअफ यात्रामा बाधक बन्यो ।

चितवनको लडाइ राबी बोपारा एक्लैले लडे । सात खेलमा तीन अर्धशतक प्रहार गरे । तर बाँकी ब्याटरहरूले उनको साथ कहिल्यै दिएनन् । काठमान्डुविरूद्ध १ सय ४२ रनको सजिलो लक्ष्य पछ्याउँदा चितवन ८९ रनमै समेटियो । लिगका अन्तिम चार खेलमा लगातार पराजित भएपछि चितवनले गत सिजन जस्तै यस पटक पनि प्लेअफ खेल्ने सौभाग्य पाएन । 

रञ्जित कुमारले ८ विकेट लिए पनि टिममा बलरहरुको अभाव प्रष्ट देखियो । टिमको फिल्डिङ् पनि निकै खराब रह्याे । हरेक खेलमा क्याच ड्रप, बलिङमा मध्य ओभरहरूमा नियन्त्रणको अभाव, ब्याटिङमा बोपारामाथिको उग्र निर्भरता तथा कमजोर योजना र रणनीति टिमको खराब प्रदर्शनको कारण बन्यो ।

कर्णालीको ब्याटिङ पनि मार्क वाटमा निर्भर रह्याे । गत सिजन दोस्रो क्वालिफायर्स खेलेको कर्णालीले यस पटक भने समर्थकलाई निरास पार्यो । वाटले १ शतकसहित २ सय ४२ रन बनाए पनि अन्य ब्याटर खास चल्न सकेनन् । डेथ ओभरमा निरन्तर रन खर्च गर्नु, स्पिन बलरहरूको अभाव, दबाबमा पूर्णरुपमा ब्याटिङ कोल्याप्स र लिगका आफ्ना पछिल्ला ४ खेलमना लगातार हार बेहोर्नुले कर्णाली यस सिजन कमजोर टोली देखियो ।

जनकपुरको कथा सबैभन्दा दुःखद बन्न पुग्यो । सिजन अघि उपाधि रक्षा गर्ने दाबी गरिरहेका उसका समर्थक लिग चरणको प्रदर्शन पछि निकै निरास छन् । जितको खाता खोल्न चौथो खेलसम्म कुरेको जनकपुरको टोली यस सिजन निकै अस्थीर देखियो । एकै सिजन उसले ३ कप्तान परिवर्तन गर्यो अनिस साहा र आसिफ सेखको ब्याट मौन रह्याे । मध्य सिजनमा अनिल टिमबाट पनि ड्रप भए । 

त्यसपछि पुनरागमन गरे तर त्यो खास प्रभावसाली हुन सकेन । गत सिजन जनकपुरको ऐतिहासिक यात्राका सारथी ललित राजवंशी खराब फर्मकै कारण बेञ्चमा थन्किए । पावरप्लेको खराब ब्याटिङर र बलिङ, कमजोर स्पिन विभाग, फ्लप मध्यक्रम, साझेदारीको अभाव, खराब फिल्डिङ तथा अस्पष्ट योजना र रणनीतिका कारण जनकपुरको यो सिजन विर्सन लायक बन्यो ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।