वर्षाले लुक्ला उडान अवरुद्ध, ४ सयभन्दा बढी पर्यटक मन्थलीमै रोकिए

चैत्र २८, २०८१ |नवराज श्रेष्ठ
वर्षाले लुक्ला उडान अवरुद्ध, ४ सयभन्दा बढी पर्यटक मन्थलीमै रोकिए

रामेछाप । वर्षाका कारण रामेछापको मन्थली–लुक्ला उडान अवरुद्ध भएको छ । बिहानैदेखि भएको वर्षाका कारण बिहीबार एउटा पनि मन्थली–लुक्ला उडान हुन नसकेको मन्थली विमानस्थल प्रमुख हिरोण शाहले बताउनुभयो ।

लुक्लाको मौसम राम्रो भए पनि रामेछापमा वर्षा जारी रहेकाले धावन मार्ग सफा नहुँदा उडान हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

बिहीबार तारा एयरको १३, समिट एयरको १४ र सीता एयरको ६ वटा गरी ३३ वटा उडान अवरुद्ध हुँदा ४ सयभन्दा बढी पर्यटक मन्थलीमै रोकिएका छन् ।

सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमानस्थलको प्रयोग गरी गन्तव्यसम्म पुर्‍याउने गरिएको छ ।

वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमानस्थलबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरिएको छ । बिहानैदेखि मौसम राम्रो भएको समयमा एकै दिन ६० वटाभन्दा बढी उडानमार्फत ८ सय ५० जनासम्म पर्यटक लुक्ला पुग्ने गरेका छन् ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।