खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी

पुस १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी

खोटाङ । खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते हुने प्रथम राष्ट्रिय बाँस सम्मेलनको प्रादेशिक तयारी सुरु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुख्य आयोजक रहने सम्मेलनमा उठाइने एजेन्डाबारे आज इटहरीमा कोशी प्रदेशस्तरीय छलफल गरिएको छ ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र ग्रिन ब्याम्बो क्रिएसन प्रालि आयोजक रहेको सम्मेलनका लागि बाँससँग सम्बन्धित सरकारी तथा वन वातावरणसम्बन्धी गैरसरकारी संघ संस्था, बाँसमा आधारित उद्यमी र स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गरिएको हो ।

'जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस' भन्ने नाराका साथ आयोजना हुने राष्टिय सम्मेलनमा बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीको खोजी सँगै बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गरिने छ । 

सम्मेलनको पूर्वतयारीका लागि आज इटहरीमा छलफल भएको छ भने भोलि मधेश प्रदेशको जनकपुर, मंगलबार बागमतीको हेटौँडा, पुस १८ गते गण्डकीको पोखरा र पुस अन्तिम साता काठमाडौंमा प्रादेशिक कार्यक्रम गर्ने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र काठमाडौंका महानिर्देशक डाक्टर राजेन्द्र केसीले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement