पोखरा । पर्यटकीय नगर पोखरामा दोस्रो ड्रागन बोट फेस्टिबल हुने भएको छ ।
नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह-आयोजनामा पर्यटकीय राजधानी पोखरामा दोस्रो ड्रागन बोट फेस्टिबल आयोजना गर्न लागिएको हो ।
२०८१ पुस १४ र १५ गतेसम्म आयोजना हुन लागेको ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने छ । २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समुह पाँच सय डलर पनि प्रदान गरिनेछ ।
ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिबल सफलतापूर्वक सम्मन्न गरिएको थियो। चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ । यस प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा राखिएको छ ।
चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेस्टिबल आयोजना हुन्छ । चिनियाँ भाषामा 'दुवान उ ज्य' भनिने ड्रागन बोट फेस्टिबल चीनको चार वटा ठूला चाँडमध्ये एक हो।