काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन आज बैंकक प्रस्थान गर्नुभएको छ । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली थाइल्याण्ड पुग्नुभएको हो । नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो । प्रधानमन्त्री ओलीको थाइल्याण्डको औपचारिक भ्रमण भने भोलिदेखि सुरु हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओली संयुक्त प्रेस ब्रिफिङमा भाग लिनुहुनेछ । थाइल्याण्डका नरेशसँगको भेटपछि प्रधानमन्त्री ओलीको एक दिने औपचारिक भ्रमण सकिनेछ ।
थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले यही चैत २१ गते बिहान त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नुहुनेछ भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ ।
प्रधानमन्त्री ओलीले चैत २२ गते बिमस्टेक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन गर्ने कार्यक्रम छ । शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने प्रधानमन्त्री ओलीको योजना छ । सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ । सोही दिन साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना छन् ।
प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किनेछ ।