निर्माणको ६ वर्षपछि आजदेखि सर्वसाधारणका लागि धरहरा खुला

मंसिर ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
निर्माणको ६ वर्षपछि आजदेखि सर्वसाधारणका लागि धरहरा खुला

काठमाडौं । निर्माणको ६ वर्षपछि आजदेखि धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । गत असोज ३ गते संविधान दिवसको अवसर पारेर निःशुल्क खुला गरिएको धरहरा आजदेखि शुल्क लिएर प्रवेश दिइएको हो ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम अन्तरिम रूपमा हाललाई शुल्क लिई सञ्चालनको व्यवस्था मिलाईएको सहरी विकास मन्त्रालयले जनाएको छ । सर्वसाधारणलाई २ सय, सार्क राष्ट्रका पर्यटकलाई ५ सय र विदेशीलाई १ हजार शुल्क निर्धारण गरिएको छ ।

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो शुल्कको व्यवस्था सहरी विकास मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्विकृत गरेको हो ।

यसअघि असोज ३ गते संविधान दिवशको अवसर पारेर निशुल्क धरहरा प्रवेशको व्यवस्था गरिएको थियो । २०७२ को भूकम्पले भत्काएको धरहरानजिकै जीआइटीसी रमन कन्स्ट्रक्सन ज्वाइन्ट भेन्चर कम्पनीले २२ तल्ले नयाँ धरहरा बनाएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.