दोलखा । दोलखाको मुख्य पर्यटकीय क्षेत्र रोल्वालिङ उपत्यका घुम्न जाने स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्न थालेको छ ।
यो वर्षको शरद ऋतुमा पदयात्राका लागि रोल्वालिङ क्षेत्रमा ७ सय भन्दा बढी विदेशी पर्यटक पुगेको गौरीशंकर संरक्षण क्षेत्रले जनाएको छ । यस्तै २ हजार भन्दा बढी स्वदेशी पर्यटक रोल्वालिङ क्षेत्रको पदयात्रामा पुगेका छन् । विगतका वर्षभन्दा यो वर्ष रोल्वालिङ क्षेत्रमा उत्साहजनकरूपले विदेशी पर्यटक बढेको होटेल व्यवसायी दावा छिरिङ शेर्पाले बताउनुभयो । स्वदेशी पर्यटकको चाप अहिले पनि रहेकाले बेदिङ र ना का होटेलहरू भरिएको जानकारी व्यवसायी शेर्पाले दिनुभयो ।
यस्तै यो वर्ष २ सय भन्दा भन्दा बढी विदेशी टासिलाप्चाहुँदै ७ दिनको पैदलयात्रा गर्दै सगरमाथातर्फ गएका छन् । भदौदेखि मंसिरसम्म र चैतदेखि असारसम्म आन्तरिक र वाह्य पर्यटक यो क्षेत्र घुम्न जाने गरेका छन् । यसैबीच बाढीका कारण सुस्ताएको रोल्वालिङको पर्यटनपुनः लयमा फर्किएको होटेल व्यवसायीहरूले बताएका छन् ।
पर्यटकको आगमन बढेकाले बाढीले क्षति पुगेको पदमार्ग र केही ट्रस्टका पुलहरु बनाइदिन व्यवसायीहरूले सरकारसँग आग्रह गर्दै आएका छन् ।