धाप ड्‌याममा स्वदेशी र विदेशी पर्यटकको लर्को

कार्तिक २४, २०८१ |कमला पाख्रिन
धाप ड्‌याममा स्वदेशी र विदेशी पर्यटकको लर्को

सिन्धुपाल्चोक । पछिल्लो समय काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ शिवपुरी राष्ट्रिय निकुञ्जस्थित धाप ड्‌याम पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ । बर्खामा पानी जम्मा गरेर हिउँदमा बागमती नदीमा बगाउने उद्देश्यले समुद्र सतहदेखि २ हजार १ सय २२ मिटर उचाइमा बनाइएको धाप ड्‍याम पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

शिवपुरी डाँडास्थित १३ हेक्टर क्षेत्रफलमा फैलिएको यो विशाल धाप ड्‌याम तालमा अचेल स्वदेशी तथा विदेशी पर्यटकको लर्को लाग्ने गरेको छ । काठमाडौं, सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको छोटो दुरीमा रहेको अग्लो डाँडामा मानव निर्मित ठूलो ताल भएकाले पनि अहिले पर्यटकले यस ठाउँलाई भ्रमणको गन्तव्य बनाउन रुचाएको पाइन्छ ।

धाप ड्‌यामबाट गणेश, लाङटाङलगायत दर्जनौँ हिमाल देख्न पाइन्छ । चिसो मौसम सुरु भएकाले पारिलो घाम ताप्दै हिमालको उज्यालोमा उपत्यका र पहाडका बस्ती नियाल्न कोही हाइकिङ गर्दै त कोही सवारीसाधन चढेरै पुग्छन् । तालमा घुम्न, रमाउन र मन शान्तिका लागि पर्यटकहरू आउने गरेका छन् । 

शिवपुरी डाँडामा रहेको यो तालसम्म पुग्न पर्यटकलाई त्यति गाह्रो पनि छैन । काठमाडौंको साँखु जरसिंपौवा हुँदै, सिन्धुपाल्चोकको मेलम्ची बाहुनेपाटी पाडीभञ्याङ हुँदै र नुवाकोटाको शिवपुरी गाउँपालिका हुँदै एकै दिनमा सजिलै आउन र फर्किन सकिन्छ । त्यसैले दशैँ तिहारको लामो छुट्टीको मौका छोपेर विशाल धाप ड्याम ताल घुमेर रमाइलो गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेको होटेल व्यवसायीहरू बताउँछन् ।

बागमती नदीमा हिउँदमा पनि स्वच्छ पानी बगाउने उद्देश्यले धापमा २४ मिटर अग्लो बाँध बाँधेर बर्खाभरीको पानी सङ्कलन गरिएको छ । यसले पर्यावरणमा मात्रासँगै पर्यटनमा पनि ठूलो सहयोग पुगेको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement