
काठमाडौं । विश्वकप जित हारको मात्र कुरा होइन, यहाँ कीर्तिमान रचिन्छन् । इतिहास बनाइन्छ । अनि हर क्षण तथ्यांकहरू अध्यावधिक भइरहेका हुन्छन् ।
इक्वेडर र कुरासाओविरुद्धको खेलमा यस्तै भयो । कुरासाओका एलोनी रुमले इक्वेडरलाई शून्यमा मात्र रोकेनन्, एकै खेलमा धेरै गोल बचाउने गोलकिपर बन्नबाट केवल एकले चुके । व्यक्तिगत चुकको त के कुरा, विश्वकपमा आफ्नो टिममा पहिलो अंक दिलाए, उनै रुमले ।
स्पेनविरुद्ध केप भर्डेका किपर भोजिन्हाको चर्चा गरौँ वा इक्वेडरविरुद्ध कुरासाओका एलोनी रुमको, यो विश्वकप गोलकिपरहरूको हो भन्दा फरक नपर्ला । कम्तीमा समूह चरणका प्रारम्भिक खेलहरूले यस्तै भनिरहेका छन् ।
कुरासाओका एलोनी रुमले त इक्वेडरलाई शून्यमा मात्र रोकेनन्, एकै खेलमा धेरै गोल बचाउने गोलकिपर बन्नबाट केवल एकले चुके । सन् २०१४ मा अमेरिकाका टिम हावर्डले बेल्जियमविरुद्ध १६ प्रहार बचाएका थिए । रुमले १५ प्रहार बचाए ।
महत्त्वपूर्ण कुरा त, हावर्डले ती १६ प्रहार अतिरिक्त समयसहित १२० मिनेटको खेलमा रोकेका थिए । यसको विपरीत एलोली रुमले ९० मिनेटभित्रै १५ प्रहार रोकेका हुन् । जर्मनीसमेत समावेश समूहमा इक्वेडरलाई नकआउटमा पुग्न कुरासाओविरुद्ध जितको विकल्प थिएन ।
पहिलो खेलमा आईभरी कोस्टविरुद्ध १–० को हार बेहोरेर आएको इक्वेडरले खेल्यो पनि त्यस्तै । तर, खेलमा कुल २९ प्रहार र त्यस्मा पनि १५ अन टार्गेट गरे पनि जित, ३ अंक र नकआउटको सपनाका अगाडि पर्खालझैँ उभिएका थिए- एलोनी रुम ।
३७ वर्षको उमेरमा आफ्नो डेब्यू विश्वकपमा मात्र रुमले विश्वव्यापी चर्चा पाए पनि, करियरमा उनले कैयौँ सफलता हात पारिसकेका छन् । नेदरल्यान्ड्समा जन्मिएका रुमले पीएसभी आइन्डोभेनबाट डच लिग र कोलम्बस क्रुबाट दुईपटक एमएलएस कप समेत जितिसकेका छन् ।
रुमलाई इक्वेडरविरुद्धको ऐतिहासिक प्रदर्शनले केवल व्यक्तिगत कीर्तिमान मात्र दिलाएन, करिब १ लाख ५० हजार जनसंख्या भएको कुरासाओलाई विश्वकपमा पहिलो अंकसमेत दिलायो । प्रशिक्षक डिक एड्भोकेटको नेतृत्वमा रहेको यो टोलीले पहिलो खेलमा जर्मनीविरुद्ध ७-१ को लज्जास्पद हार बेहोरे पनि इक्वेडरलाई रोक्दै आफ्नो नकआउट चरणको सम्भावनालाई जीवितै राखेको छ ।
समूह 'ई' मा जर्मनी नकआउटमा पुगिसकेको छ भने अब कुरासाओले अन्तिम खेलमा आइभरी कोस्टलाई पराजित गर्न सके अन्तिम ३२ मा स्थान बनाउन सक्नेछ ।