शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा जंगली याक फेला

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा जंगली याक फेला

डोल्पा । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज सो जङ्गली याकको 'फोटो फ्रेम' अनावरण छ ।

स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्‌दीले तस्बिर लिनुभएको जङ्गली याक शे-फोक्सुन्डो गाउँपालिका-१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो । चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइ रहेको सो स्थानमा उक्त जङ्गली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको विभागको तथ्याङ्कमा जनाएको छ ।

यो अध्ययन स्थानीय समुदायको पूर्व जानकारीपश्चात निकुञ्ज विभागको अगुवाइमा शे- फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहकार्यमा सम्पन्न भएको थियो । विगतमा तथ्याङ्क अभाव तथा स्थानीय समुदायका अनुसार जङ्गली याक लोप हुने अवस्थामा रहेको मानिएको थियो । जङ्गली याक प्रायः समुद्री सतहबाट चार हजार आठ सय २५ मिटरको उचाइमा पाइन्छ ।

यस अध्ययनका क्रममा स्थानीयका साथै युवा वैज्ञानिकहरू सोनाम वाङ्‌दी र उर्गेन गुरुङको महत्त्वपूर्ण योगदान रहेको डब्लुडब्लुएफ नेपालका पर्वतीय कार्यक्रम व्यवस्थापक सेरेन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो जङ्गली याक देखिएको क्षेत्रबाट पश्चिमतिर चीनको सीमा नजिक पनि अर्को जङ्गली याक देखिएको जनाईएको छ ।

नेपालमा पहिलोपटक अनुसन्धानकर्ताहरूले हुम्लामा सन् २०१४ मा जङ्गली याक देखेका र पहिलो आधिकारिक तस्बिर पनि सोही समयमा सार्वजनिक गरिएको थियो ।

नेपालमा वन चौरी पनि भनेर चिनिने जङ्गली याक विश्वव्यापी रूपमा चीन, भारत र नेपालको मूल रैथाने प्रजाति हो । जङ्गली याक खासगरी अल्पाइन टुन्ड्रा क्षेत्रको घाँसेमैदान र चिसो मरुभूमि क्षेत्रहरूमा पाइन्छ । जाडोमा तल्लो उपत्यकाहरूमा झर्दै, मौसमी रूपमा सर्ने गर्छ । यद्यपि, यस प्रजातिको हालको वितरण दायरा राम्रोसँग थाहा छैन । जङ्गली याक प्रायः उत्तरी सिमाना छिमेकी चीनको तिब्बतसँग जोडिएका हिमाली क्षेत्रमा बढी रहने गरेको अनुमान गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement