मौसम खुलेपछि एक सातापछि सुरु भयो मन्थली-लुक्ला उडान

कार्तिक ४, २०८१ |नवराज श्रेष्ठ
मौसम खुलेपछि एक सातापछि सुरु भयो मन्थली-लुक्ला उडान

रामेछाप । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा रोकिएको मन्थली–लुक्ला उडान एक हप्तापछि सुरु भएको छ । गत सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान मौसम सुधार भएसँगै आइतबार बिहान ११ बजेबाट सुचारु भएको रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका उपप्रवन्धक हिरोण साहले बताउनु भयो ।

गत सोमबारदेखि मौसम खराबीले मन्थली–लुक्ला उडान हुन नसक्दा १ हजारभन्दा बढी पर्यटक रामेछाप सदरमुकाम मन्थलीमै रोकिएका थिए । मन्थलीमा रोकिएका मध्ये ५ सयभन्दा बढी पर्यटकलाई बिहीबार, शुक्रबार र शनिबार तीन दिन हेलिकोप्टरबाट सोलुखुम्बुको फाप्लु र सुर्के लगिएको थियो । 

मन्थलीमा रोकिएका पर्यटकहरूलाई अधा दर्जन बढी निजी कम्पनीका हेलिकोप्टरले बोकेका थिए । रामेछाप नागरिक उड्डयन कार्यालयका अनुसार मन्थली विमानस्थलमा अझै ५ सयभन्दा बढी पर्यटक लुक्ला जानका लागि पालो कुरेर बसेका छन् ।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले चैतदेखि जेठ महिनासम्म र असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म पर्यटकलाई मन्थली विमानस्थलबाट लुक्ला लैजाने र ल्याउने व्यवस्था गरेको छ । तर, यो पटकको सिजन सुरु हुनासाथ पटक-पटक मौसम बिग्रिनाले छोटो समय लिएर सगरमाथा क्षेत्र भ्रमणका लागि आएका धेरै पर्यटक मन्थलीबाटै फर्किएका छन् ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका राेछाप संवाददाता हुन् ।