मनकामना केबलकार असोज २९ देखि तीनदिन बन्द हुने

आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
मनकामना केबलकार असोज २९ देखि तीनदिन बन्द हुने

चितवन । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो ।

मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.