नवीकरण गर्न पाँच वटा पाँच तारे होटेलको आनाकानी, करोडौं रोयल्टी तिर्न बाँकी

भाद्र २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नवीकरण गर्न पाँच वटा पाँच तारे होटेलको आनाकानी, करोडौं रोयल्टी तिर्न बाँकी

काठमाडौं । देशभर अन्तर्राष्ट्रिय चेन होटल खुलिरहेका बेला राजधानीका पाँच वटा पाँच तारे होटेलले लामो समयदेखि अनुमति पत्र नै नवीकरण नगरेको पाइएको छ ।

क्यासिनो सञ्चालकले रोयल्टी बापतको एक अर्बभन्दा बढी रकम नतिरी भागेपछि होटेलको अनुमति पत्र नवीकरण हुन नसकेको हो । होटेल याक एन्ड यतीले ५४ करोड ५० लाख ६६ हजार र लाजिम्पाटमा रहेको होटेल र्‍याडिसनले ४० करोड २६ लाख ५० हजार रुपैयाँ तिरेका छैनन् । त्यस्तै, नयाँ बानेश्वरमा रहेको होटेल एभरेष्टले क्यासिनोको रोयल्टी र वातावरणीय मूल्यांकन नगर्दा लामो समयदेखि नवीकरण गरेको छैन । यसैगरी, दरबारमार्गकै होटेल अन्नपूर्ण र लाजिम्पाटको होटेल सांग्रिला पुन:निर्माणको चरणमा रहेकाले पर्यटन विभागले सेवा सञ्चालनमा नरहेको भन्दै निलम्बन गरेको छ ।

क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण दस्तुर नतिरेपछि सरकारले होटेलहरुलाई ताकेता गर्न थालेको छ। तर, होटेल भने त्यसविरुद्ध मुद्दा लिएर अदालत पुगेका छन् ।

देशभर अहिले ४४ वटा एकतारे, ५१ वटा दुई तारे, ३८ वटा तीन तारे, ३७ वटा चार तारे र २० वटा पाँच तारे होटल सञ्चालनमा छन् । पाँच तारे डिलक्स २, लक्जरी हेरिटेज ३, डिलक्स हेरिटेज ३ र बुटिक एक गरी १ सय ९९ तारे होटेल छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement