पर्यटन बोर्डको नयाँ नेतृत्वसँग के छन् व्यवसायीका अपेक्षा ?

भाद्र २३, २०८१ |भरत रावल
पर्यटन बोर्डको नयाँ नेतृत्वसँग के छन् व्यवसायीका अपेक्षा ?

काठमाडौं । पर्यटन क्षेत्रमा लगानी बढ्दै गए पनि पर्यटन बोर्डले प्रचारप्रसारको काम गर्न नसकेको र चालु वर्षको बजेट समेत ल्याउन नसकेको भन्दै निजी क्षेत्र रुष्ट थियो । अझ बोर्ड नै खारेजीको मागसमेत व्यवसायीले राख्दै आएका थिए । यही बेला पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दीपकराज जोशी नियुक्त हुनु भएको छ । के छन् नयाँ नेतृत्वसँग व्यवसायीका अपेक्षा ?

सरकारले ३५ लाख पर्यटक भित्र्याउने उद्देश्यसहित सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशक घोषणा गरेको छ । तर, घोषणाको दुई वर्षसम्म पनि कुनै कार्यविधि बन्न सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न नसक्दा पर्यटक आगमन बढ्न सकेको छैन भने पर्यटकको बसाई पनि घट्दो क्रममा छ । यस्तो बेला सरकार र पर्यटन बोर्डले काम नगरेको भन्दै निजी क्षेत्र रुष्ट छ । 

बोर्डले डेढ वर्षदेखि कुनै पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा उपस्थिति जनाउन सकेको छैन भने चालु आर्थिक वर्षको दुई महिना बित्नै लाग्दासमेत बजेट ल्याउन सकेको छैन । पर्यटन बोर्ड झन् कमजोर बन्दै गएको समयमा नियुक्त प्रमुख कार्यकारी अधिकृतले अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार गरेर पर्यटन भित्र्याउन सक्ने निजी क्षेत्रको अपेक्षा छ ।

कोरोनापछि अन्य देशको पर्यटन उद्योगले राम्रो प्रगति गरिसकेका छन् । तर, नेपालको पर्यटन क्षेत्र भने अझै राम्रोसँग उठ्न सकेको छैन । उल्टै गएको महिनामा त पर्यटक आगमन २३ प्रतिशतले घटेको छ । यस्तो चुनौतीले भरिएको समयमा बोर्ड सम्हाल्नु भएका दीपकराज जोशीले ४ वर्षमा चार काम गर्ने गरी तयारी गरेका छन् ।

कोभिडपछि पर्यटन क्षेत्रमा ठूलो लगानी भए पनि पर्यटक नबढ्दा यस क्षेत्रका हजारौँ व्यवसायी पलायनको अवस्थामा पुगेका छन् । यसका लागि बोर्डले निजी क्षेत्रसँग पर्याप्त सहकार्य गर्नुपर्ने उनीहरूको माग छ ।

होटेल क्षेत्रले ३५ लाखलाई सेवा दिन सक्ने दाबी व्यवसायीको छ । तर, अहिलेसम्म सबैभन्दा बढी पर्यटक भित्रिएको सन् २०१९ मा १२ लाख मात्र हो । यो आर्थिक वर्षमा सरकारले १६ लाख भित्र्याउने भने पनि २०२४ को ८ महिनामा ७ लाख २० हजार मात्र भित्रिएका छन् ।

यस्तो अवस्था पर्यटकीय गन्तव्यको प्रचारप्रसार सँगै आवश्यक पूर्वाधार निर्माण गर्न पर्यटन क्षेत्र जोडिएका निकायसँग पनि समन्वय गर्न अति आवश्यक छ । 


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement