
बुटवल । बुटवलको सेमलारमा छ मिनी फेवाताल ।
ताललाई बुटवलको वैकल्पिक पर्यटकीय क्षेत्र बनाउन करोडौं खर्च भयो । ताल सौन्दर्यीकरण पनि भयो । तर, पर्यटन गतिविधि ठप्प छन् । यो हो बुटवलको बैठउलिया अर्थात् कपरकट्टी ताल । जसलाई बुटवल उपमहानगरपालिकाले मिनी फेवातालको नाम दिएको छ ।
करिब दुई किलोमिटर लम्बाइ र तीन सय मिटर चौडाइमा फैलिएको यो ताल आकर्षक र मनमोहक छ । जताततैबाट अतिक्रमणमा परेको यो ताललाई बुटवल उपमहानगरले ६ वर्षअघि खाली गरी सौन्दर्यीकरण र सडक संजालीकरण गरेको थियो ।
तालको वरपर घुम्न रिङ रोड र साइकिल मार्ग मात्र होइन स्टिमर सयरको व्यवस्था छ । फेवाताल छेउमा पिकनिक स्पोट, क्याफे र विश्रामस्थल छन्। तर, माल पाएर पनि चाल नपाएको भनेजस्तै अहिले यो मिनी फेवाताललाई पर्यटकिय क्षेत्र बनाउने र पर्यटन प्रवद्धन गर्ने सबै गतिविधि ठप्प छन् ।
बुटवल १६ सेमलारमा रहेको तालको सौन्दर्यीकरणमा बुटवल उपमहानगरले ५ करोड ५२ लाख रूपैयाँ र लुम्बिनी प्रदेश सरकारले ७० लाख रूपैयाँ खर्चेका छन् । सौन्दर्यीकरणपछि तालमा स्टीमरसहित तालमा पर्यटकिय गतिविधि सञ्चालन गर्न २०७८ कार्तिकमा स्वाभिमान कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो ।
बुटवल उपमहानगरले पाँच वर्षका लागि ४५ लाख रूपैयाँमा दिएको ठेक्का सम्झौता ०८३ कार्तिकसम्म छ । तर, कम्पनीले पर्यटन गतिविधि सञ्चालन गरेको छैन । पर्यटन गतिविधि रोकिँदा मीनी फेवाताल अहिले सुनसान छ । पर्यटकिय पूर्वाधार बिग्रदै गएका छन् ।
राज्यको करौडौंको लगानी खेर गएको छ भने तालबाट हुने आम्दानी गुमेको छ । यस्तोमा सञ्चालनको जिम्मा पाएको बुटवल उपमहानगरले ठेकेदार कम्पनीलाई दोष दिएर उम्कनु हुँदैन । बुटवलको वैकल्पिक पर्यटकिय क्षेत्र मिनी फेवाताल चलायमान बनाउन लाग्नुपर्छ ।