जुम्लाको शंकर झरनामा पुग्ने पर्यटक बढ्दै, स्थानीयको आय-आर्जनमासमेत टेवा पुग्ने

पर्यटकीय गन्तव्य बनाउन थप पूर्वाधार निर्माण आवश्यक
आश्विन २७, २०८२ |डीबी बुढा
जुम्लाको शंकर झरनामा पुग्ने पर्यटक बढ्दै, स्थानीयको आय-आर्जनमासमेत टेवा पुग्ने

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-२ पेरे गाउँको जंगलमा रहेको शंकर झरनामा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । 

हिउँदका तीन महिना बाहेकका सबैजसो महिनामा झरना अवलोकन गर्न आउने पर्यटक बढेका हुन् । यसले झरनाको प्रसारप्रसार हुनुका साथै स्थानीयको आयमा समेत टेवा पुगेको छ । घना जंगलको बीचमा रहेको जुम्लाको सबैभन्दा अग्लो शंकर झरना हेर्न आउनहरू बर्षेनि बढिरहेका छन् । 

माथिबाट झरेको पानीको फोहोराले त्यहाँ पुग्ने जोसुकै मोहित हुने गरेका छन् । स्थानीयले यसलाई प्रकृतिको सुन्दर उपहारको रूपमा लिने गरेका छन् । झरनाको उचाइ मापन भएको छैन । पहाडको खोंचमा रहेको झरनालाई अझै धेरैतिर चिनाउन सके आम्दानीको राम्रो स्रोत बन्ने देखिन्छ । 

सदरमुकाम खलंगादेखि डेढ घण्टा मोटरबाटो पार गरेपछि पेरेगाउँको भित्र जवा नदीको किनारमा पुगिन्छ। त्यसपछि ४५ मिनेट पैदलको यात्रामा शंकर झरना पुगिन्छ। माथि पातारासी हिमाल, त्यहाँबाट बगेको जवा नदी, नदीको किनारैकिनार हिँड्दै जाँदा हरियाली फाँट र घाँसेमैदान भेटिन्छ। यो झरना अवलोकन गर्न चैतदेखि कात्तिकसम्म उपयुक्त छ।

झरना क्षेत्रलाई पर्यटकको गन्तव्यस्थल बनाउन मोटरबाटो र पदमार्ग दुवै व्यवस्थापन गर्नुपर्ने खाँचो देखिन्छ । पातारासी गाउँपालिकामा अरू पर्यटकीय गन्तव्यहरू विश्वकै उच्च स्थानमामा मार्सी धान फल्ने छुमचौर, पातारासी हिमाल, बालीगाड ताल, देवस्थल, तालकोटा, तातोपानी कुण्डसँगै शंकर झरना पनि थपिँदा पर्यटकीय गतिविधि बढ्ने आशा गर्न सकिन्छ । यसका लागि स्थानीय सरकारले के गरिहरको छ त ?

०४५ सालमा तत्कालीन राजा वीरेन्द्र शंकर झरना क्षेत्रमा शिकार खेल्न पुगेको इतिहास छ । शंकर झरनामा पहिले भेडी गोठाला, सिकारी र जडीबुटी संकलक मात्रै पुग्थे। अहिले आन्तरिक पर्यटक बाक्लै पुग्ने गरेका छन्। यसलाइ संरक्षण गर्दै प्रचार-प्रसार गर्न सके यहाँ आएका पर्यटकले गर्ने खर्चले स्थानीय जीवनस्तरमा सुधार हुने देखिन्छ ।

कान्तिपुर समाचारका लागि ,जुम्ला


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।