शहीदको फोटोमा टीका–माला लगाएर काठमाडौंमा जेन-जीले सम्झिए आन्दोलन

कार्तिक ६, २०८२ |दशरथ राई
शहीदको फोटोमा टीका–माला लगाएर काठमाडौंमा जेन-जीले सम्झिए आन्दोलन

काठमाडौं । जेन-जी आन्दोलनमा सहभागी भएको एक समूह जेन-जी युनाइटेडले फरक तरिकाले भाइटीका मनाएको छ । यो समूहले काठमाडौँको माइतीघर मण्डलमा भेला भएर जेन–जी आन्दोलनका शहीदको फोटोमा सप्तरंगी टीका, मखमली र सयपत्री फूलको माला लगाइदिएर भाइटीका पर्व मनाएको हो । 

शहिद परिवार पीडामा भएका बेला आफूहरुले घरमा टीका लगाउन नसकेर सामूहिक भेला भएर शहिदको फोटोमा माला लगाइ दिएको जेन–जी युवाहरुको भनाइ छ ।

दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाइ दिने शुभसाइत पर्खिरहेका बेला काठमाडौँको माइतीघर मण्डलमा भने फरक माहोल देखियो । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा शहिद भएकाहरुका परिवार, आफन्तसहित जेन-जी युनाइटेड समूहमा आवद्ध युवा माइतीघर मण्डलमा भेला भएर शहीदको फोटोमा सप्तरंगी टीकासहित मखमली र सयपत्री फूलको माला लगाइदिएर सामूहिक भाइटीका मनाएका छन् । आन्दोलनका क्रममा आफ्ना सहकर्मीहरुले ज्यान गुमाएको अवस्थामा घरमै भाइटीका मनाउन नसकेकाले माइतीघरमा भेला भएर शहीदको तस्बिरमा टीका र माला लगाउँदै भाइटीका मनाएको उनीहरुको भनाइ छ । शहिद परिवारका सदस्यहरुले तिहारको मुख्य दिनमा माइतीघर मण्डलमा आउनुको पीडा शब्दमा ब्यक्त गर्न सकिरहेका थिएनन् ।

माइतीघरमा भेला भएकाहरुले जेन–जीको आन्दोलनकै जगमा सुशीला कार्की नेतृत्वको सरकार गठन भए पनि शहिद परिवारलाई वेवास्ता गरिएको गुनासो गरे । सरकारले जेन–जीका माग अझै सम्बोधन गर्न नसकेकाले फरक-फरक समूहमा विभाजित नभइ एकीकृत हुनुपर्नेमा उनीहरुले जोड दिए ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।