काठमाडौं । नेपाली महिला फुटबल टोलीले शुक्रबार इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।
नेपालले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यी खेलका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेका प्रिति राई, सावित्रा भण्डारी साम्बा, पूजा राई तथा एन्जिला तुम्बापो सुब्बा टिममा सामेल भएका छन्। नवनियुक्त प्रशिक्षक नबिन न्यौपानेको यो पहिलो खेल हनेछ । प्री म्याच कन्फरेन्समा न्यौपानेले अट्याकिङ रणनीतिका साथ मैदानमा उत्रिने र यी मैत्रीपूर्ण खेलमा नयाँ खेलाडी परीक्षण गर्ने जानकारी दिए ।
नेपाली टोलीले १० गते भारतसँग दोश्रो मैत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि १३ कात्तिकमा भारतसँग अर्को एक अनअफिसियल खेल पनि हुनेछ । फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् । नेपालले इरानसँग यसअघि सन् २०१९ मा भारतमा नै आयोजना भएको हिरो महिला गोल्डकपमा खेलेको थियो । उक्त खेलमा नेपाल तीन-शून्यले विजयी भएको थियो। उक्त खेलमा सावित्राले दुई गोल गरेकी थिइन् भने अनिता बस्नेतको नाममा एक गोल थियो।