स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता ल्याउन छलफल हुँदै छ : पर्यटन मन्त्री पाण्डे

श्रावण ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता ल्याउन छलफल हुँदै छ : पर्यटन मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताउनुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री पाण्डेले सरकारले यस विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको जानकारी दिनुभयो । हवाई टिकट मूल्यमा एकरुपता ल्याउन सकारात्मक निर्णय हुने पनि मन्त्री पाण्डेले विश्वास दिलाउनु भयो । उहाँले भन्नुभयो, ‘स्वदेशी र विदेशी पर्यटक जो हवाई यात्रा गर्नुहुन्छ, टिकटमा मूल्यका निम्ति छलफल जारी रहेको र यसको सकारात्मक निर्णय आउनेछ ।’

पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको उहाँको गुनासो थियो । उहाँले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताउनु भयो । ‘यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सात वटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम इको हिल टुरिजम लगायतका कार्यक्रमहरु यस वर्षको बजेटमा समावेश गरिएको छ’, उहाँले भन्नुभयो । 

भारत र चीनका पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरु कार्यान्वयन गरिएको उहाँको भनाइ छ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको र होटेललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको मन्त्री पाण्डेले बताउनु भयो । 

यस्तै पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिइएको पनि उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement