सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

धनगढी । आर्थिक वर्ष सुरू भएको दुई महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । असर एक गते प्रदेश सभामा प्रस्तुत भएको विनियोजन विधेयेक फिर्ता लिँदै प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रदेश सरकारले ल्याएको बजेटमा पुँजीगत तर्फ १८ अर्ब ७६ करोड २४ लाख अर्थात् ५९ दशमलव ३२ प्रतिशत् र चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख अर्थात् ४० दशमलव ६५ प्रतिशत विनियोजन गरिएको छ । बजेटमा अधिकांश पुरानै योजनालाई समेटिएको छ ।

सुदूरपश्चिम प्रदेश सभाका विपक्षी दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले भने बजेट भाषण बहिस्कार गरेका छन् । विपक्षीको विरोधका कारण प्रदेश सभा बैठक केहीबेर अवरुद्ध समेत भएको थियो । असार एक गते नै आउनुपर्ने बजेट अहिले ल्याउनु संविधान र कानुनको विपरीत भएको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशसभामा नाराबाजीसमेत गरे ।

दीर्घ सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको बजेट पारित नहुँदा सुदूरपश्चिम प्रदेश साउन १ गतेदेखि बजेट शून्यतामा गएको थियो । अध्यादेश ल्याएर राजश्व उठाउने बाटो खोलिए पनि सरकारी खर्च ठप्प थियो भने कर्मचारीले तलब पनि खान पाएका थिएनन् । कांग्रेस एमालेको नयाँ समीकरण बनेसँगै समर्थन फिर्ता लिएर एमाले सरकारबाट बाहिरिएपछि दीर्घ सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट अलपत्र परेको थियो ।

कमलबहादुर शाह नेतृत्वको सरकारले सोही बजेटलाई हेरफेर गरी आकार केही बढाएर सोमबार प्रदेश सभामा प्रस्तुत गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement