कार्यालयभित्रै कुटाकुट गर्ने राष्ट्रपति चुरे विकास समितिका अध्यक्ष र सदस्यलाई किन भएन कारबाही ?

भाद्र ३१, २०८१ |विकास आचार्य
कार्यालयभित्रै कुटाकुट गर्ने राष्ट्रपति चुरे विकास समितिका अध्यक्ष र सदस्यलाई किन भएन कारबाही ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिका अध्यक्ष– किरण पौडेल र समितिका सदस्य भेषराज आचार्यबीच गत बिहीबार चुरे संरक्षण समितिको कार्यालयमै कुटाकुट भयो ।

दुवै जना पीएचडी होल्डर विद्वान । उहाँहरुलाई केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७७ साल चैत २० गते चुरे बोर्डमा नियुक्त गर्नु भएको हो । उहाँहरुको पदीय हैसियत राज्यमन्त्री सरह हो । तर उहाँहरुको गतिविधी चाँही राज्यमन्त्री भन्न नसुहाउने खालको छ ।

उहाँहरुको जिम्मेवारी चुरे संरक्षणमा काम गर्ने हो । तर, चुरे संरक्षण गर्न त कहाँ हो कहाँ बरु कार्यकक्षमै मुक्कामुक्की गर्न माहिर हुनुहुन्छ ।

अब घटना बारे चर्चा गरौं । बिहीबार पौडेल र आचार्यबीच कार्यकक्षमै कुटाकुट भयो । बन्द कोठाभित्रको कुटाकुट र भनाभनले कार्यालय परिसरमै होहल्ला भयो । प्रत्यक्षदर्शीका अनुसार, दुई जनाबीच चर्को स्वरमा अस्लील गाली गलौज मात्र भएन बाहिर बस्नेहरुलेसमेत सुन्ने गरी हानाहान नै भयो ।

कारण थियो– संस्थामा भ्रष्टाचार र बेथिति मौलाउँदै गएको तर, अध्यक्षले रोक्न नसकेको आचार्यको आरोप र आफूलाई अनेकन आरोप प्रत्यारोपसहित मुद्दा मामिला गरेर काम गर्न नदिएको पौडेलको प्रत्यारोप । वोर्डमा नियुक्त भएदेखि नै उहाँहरुबीच पटक–पटक भनाभन र धकेलाधकेल हुने गरेको थियो ।

अहिले उहाँहरु दुवै एक–अर्काविरुद्ध गाली बेइज्जति र कुटपिट मुद्दा हाल्ने तयारीमा हुनुहुन्छ । भेषराज आचार्यविरुद्ध सदस्य बन्न अयोग्य रहेको मुद्दा विचाराधीन छ भने किरण पौडेलविरुद्ध पदको दुरुपयोग गरेको आरोपसहितको मुद्दा विचाराधीन छ । तर, अचम्म चाहिँ के छ भने यी सबै कुरा थाहा हुँदाहुँदै पनि सरकारले कारबाही गर्न सकेको छैन ।

राष्ट्रिय गौरवको राष्ट्रपति चुरे तराई-मधेश संरक्षण आयोजनाले अनगिन्ती काम गर्नु छ । चालु आर्थिक वर्षका लागि करिब १ अर्ब बजेट विनियोजन भएको छ । यही बजेट बाढी, पहिरो र भू–क्षय रोक्ने कार्यक्रममा खर्च गरेर आगामी बर्खामा नागरिकलाई सुरक्षित बनाउनुका साथ साथै चुरे संरक्षणमा काम गर्नुपर्ने हो । तर मुख्य नेतृत्वको झगडा, अविश्वास र योग्यतामै प्रश्न उठ्नुले संस्थाको र नेतृत्वको क्षमतामा त प्रश्न उठेको छ भने तालुकदार निकायको मौनताले आयोजनाको अस्तित्वमै प्रश्न खडा गरिदिएको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement