नेपाल घुम्न आउने पर्यटकले बुकिङ रद्द गर्न थालेपछि व्यवसायी चिन्तित

सडक र हवाई दुर्घटनाको असर पर्यटन क्षेत्रमा
भाद्र २१, २०८१ |भरत रावल
नेपाल घुम्न आउने पर्यटकले बुकिङ रद्द गर्न थालेपछि व्यवसायी चिन्तित

काठमाडौं । सेप्टेम्बर र अक्टोम्बर नेपाल घुम्न आउने र हिमाल आरोहण गर्ने दोस्रो मुख्य सिजन हो । त्यसका लागि केही समय अघि नै पर्यटकले बुकिङ गरिसकेका थिए । तर पछिल्लो समय भएका सडक र हवाई दुर्घटनाको कारण देखाउँदै पर्यटकहरुले बुकिङ रद्द गर्न थालेको व्यवसायीले बताएका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टका अध्यक्ष कुमारमणि थपलिया १७ जना बेलायती पर्यटकले एकै पटक नेपाल भ्रमणको बुकिङ रद्द गरेपछि चिन्तित हुनुहुन्छ । हवाई र सडक हवाई दुर्घटना बढेपछि नेपाल जोखिमयुक्त गन्तव्य भन्दै पर्यटकले बुकिङ रद्द गरेको उहाँले बताउनुभयो ।

हरेक वर्षको अप्रिल र मे पछि सेप्टेम्बर र अक्टोम्बरमा सबैभन्दा बढी हिमाल आरोहण गरिन्छ । यसपटक सन् २०१९ को तुलनामा पनि राम्रो बुकिङ छ । तर अहिले पर्यटकले नेपाल आउन नसकिने जानकारी इमेलमार्फत् गराउन थालेका छन् । १५ दिन अघिसम्म पनि बुकिङ रद्द गर्न सकिने प्रावधान रहेकाले नेपाल भ्रमण गर्न चाहनेहरु पनि आउँछन् भनेर ढुक्क हुने अवस्था नरहेको व्यवसायीको भनाइ छ ।

अफ सिजन मानिने अगष्टमा सन् २०१९ को तुलनामा पर्यटक आगमन २३ प्रतिशतले घटेको छ । सेप्टेम्बर, अक्टोबर भने सन् १९ को भन्दा पनि राम्रो बुकिङ छ । तर सुरुवाती बुकिङलाई लिएर उत्साहित व्यवसायी धमाधम बुकिङ रद्द भएपछि चिन्तामा परेका हुन् ।

हवाई र सडक दुर्घटना मात्रै होईन नेपाल आउने हवाई टिकटसमेत महँगो भन्दै कतिपय पर्यटकले गुनासो गरिरहेका छन् । नेपाल जस्तै देशमा बजेटको एक तिहाई हवाई टिकट र दुई तिहाई भ्रमणमा खर्च हुन्छ । तर नेपाल ठीक उल्टो दुई तिहाई भन्दाबढी हवाई टिकट र एक तिहाईभन्दा कमले भ्रमण खर्च गर्नुपर्ने अवस्था छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमसाग जहाज नहुादा पनि नेपालमा पर्यटक आगमनमा असर परेको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement