अमेरिकी भूमिमा नेपाली भाषा र संस्कृति सिक्दै नेपालीका बालबच्चा

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी भूमिमा नेपाली भाषा र संस्कृति सिक्दै नेपालीका बालबच्चा

काठमाडौं । अमेरिकामा नेपालीको संख्या बढिरहँदा विदेशमै जन्मिएर हुर्किँदै गरेका बालबच्चालाई कसरी नेपाली भाषा लेखपढ गर्न सिकाउने र नेपाली संस्कृति बुझाउने भन्ने चुनौती ठूलो छ । चुनौतीका बीच पनि अमेरिकामा विभिन्न नेपाली कक्षा सञ्चालित छन् । न्यूयोर्कमा रहेको एक नेपाली कक्षाले अमेरिकाभित्र मात्र होइन अन्य मुलुकमा रहेका नेपाली बालबच्चालाई पनि भाषा सिकाइरहेको छ ।

उनीहरूले आफ्नो कक्षा नेपाली राष्ट्रियगानबाट सुरु गर्छन् । नेपाली भाषाको मात्र नभई रितीरिवाज तथा चाडपर्वको बारेमा पनि जानकारी लिन्छन् । न्यूयोर्कबाट नेपाली भाषाको अनलाइन कक्षा सञ्चालन गरिरहेको सरल नेपाली भाषा तथा संस्कृति केन्द्रले नेपाली विद्यार्थी र अभिभावकको लागि निशुल्क वनभोज कार्यक्रमसमेत आयोजना गरी एक अर्कामा चिनजान तथा सामिप्य बढाउने गर्दछ ।

अमेरिकी भूमिमा नेपालीभाषा तथा संस्कृति जोगाउनु कम्ती चुनौतीपूर्ण छैन । तर आफ्नोपन र परिचय जगेर्नाको लागि योगदान गर्न पाउँदा सन्तुष्टि महसुस गर्ने धेरैमध्येकी एक हुनुहुन्छ यसै केन्द्रमा लामो समय स्वयंसेवी शिक्षकको रूपमा कार्यरत यशोदा राई ।

सन् २०१६ मा ८ विद्यार्थी र दुई जना शिक्षकबाट सुरु भएको नेपाली भाषा पढाउने यो केन्द्रले पाँच सय भन्दा धेरै विद्यार्थीलाई दीक्षित गरिसकेको छ भने अहिले दुई सयभन्दा धेरै विद्यार्थी भाषा कक्षामा छन् । व्यस्त तालिका तथा आफ्नो काम गर्नैपर्ने बाध्यताकाबीच मौलिकता संरक्षणमा १६ जना शिक्षकले स्वयंसेवा गरिरहेका छन् ।

भूगोलबाहेक पनि मुलुक हुन्छ, जुन भाषा, रीतिरिवाज तथा संस्कृतिका माध्यमबाट विश्वमाझ परिचित भइरहेको हुन्छ । अमेरिकामा जन्मे पनि आफ्नो भाषा तथा संस्कारलाई पछिल्लो पुस्ताले नबिर्सिऊन् भनेर सञ्चालन गरिने यस्ता कक्षाका आफ्नै व्यथा र चुनौती पनि छन् ।

निशुल्क नेपाली भाषाको कक्षा सञ्चालन गर्ने मात्र होइन यहाँ पढाउने शिक्षकहरूले समेत आफ्नो नि:शुल्करूपमा सिकाइरहेका छन् । नेपालबाहिर रहेका नेपाली र उनीहरूका पछिल्लो पुस्तालाई आफ्नो भाषा र संस्कतिको ज्ञान दिन गरिने यस्ता अभियानले भाषा त जोगिन्छ नै नेपाली मौलिकता पनि जोगिइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement