विदेशी पर्यटकलाई तर्साउने हवाई टिकट, सेवा शुल्क घटाउन व्यवसायीको माग

श्रावण २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
विदेशी पर्यटकलाई तर्साउने हवाई टिकट, सेवा शुल्क घटाउन व्यवसायीको माग

काठमाडौं । सरकारले आउँदो वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पर्यटनसम्बन्धी पूर्वाधारमा निजी क्षेत्रको लगानीसमेत बढेको छ । अन्तर्राष्ट्रिय चेन होटल खुल्ने क्रम जारी छ । होटल क्षेत्रमा मात्रै अर्बौ लगानी भएको छ । तर, अघिल्लो वर्षदेखि हवाइ टिकटमा समेत भ्याट लगाइएकाले पर्यटकका लागि नेपालको गन्तव्य महँगो भएको भन्दै आलोचना भइरहेको छ ।

कोरोना महामारीअघि काठमाडौंदेखि अमेरिकाको न्यूयोर्कका लागि दुईतर्फी हवाई भाडा १ लाख १५ हजार रुपैयाँ हाराहारीमा थियो । तर, अहिले दोब्बर भएको छ । व्यवसायीका अनुसार खाडीका मुलुक जान पनि ४० प्रतिशतसम्म हवाइ भाडा बढेको छ । अघिल्लो वर्षदेखि सरकारले हवाई टिकटमा भ्याट लगाएकाले हवाई भाडा बढेको हो । यसैगरी सार्कका अन्य देशको तुलनामा नेपालमा हवाई इन्धन २५ प्रतिशतसम्म महंगो छ । ग्राउन्ड हृयान्डलिङ खर्च पनि दक्षिण एसियाली मुलुकमा सबैभन्दा धेरै नेपालको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड हृयान्डलिङको जिम्मा नेपाल एयरलाइन्सले लिएको छ । उसले प्रतियात्रु औसत ६ डलर उठाइरहेको छ । यो अन्य देशको तुलनामा करिब दोब्बर हो । यसले पनि पर्यटकलाई नेपाल आउजाउ गर्नै महंगो पर्ने गरेको सरोकारवालाहरुको बुझाइ छ ।

अघिल्लो वर्ष सरकारले हवाई टिकटको भ्याटवापत करिब ६ अर्ब रुपैयाा उठाएको छ । यात्रुले हवाइ टिकटको वास्तविक मूल्यभन्दा १३ प्रतिशत बढी तिर्नुपर्छ । यसले पनि नेपाल आउन चाहने पर्यटकलाई निरुत्साहित बनाएको व्यवसायीहरुको भनाइ छ ।

हवाई टिकटमा लगाइएको भ्याटको व्यवसायीले आलोचना गरे पनि सरकार आफ्नो निर्णयबाट पछि हटेको छैन । पर्यटन मन्त्रालयका अधिकारीहरु बजेटमा आएको विषय पुनरावलोकनमा समस्या हुने गरेको बताउने गरे पनि क्यामरामा बोल्न चाहादैनन् । ६ अर्ब रुपैयााको लोभमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने सरकारी लक्ष्यमै ठेस पुगेको छ । तर राजनीतिक नेतृत्व यसबारे जानकार हुादाहुादै पनि कुनै निर्णय गर्न सकेको छैन ।

हवाइ टिकटमा लगाइएको भ्याट, महंगो इन्धन शुल्क, महंगो ग्राउन्ड हृयान्डलिङलगायतका कारणले नेपालको हवाइ यात्रा नै महंगो पर्दा पर्यटक आउन चाहिरहेका छैनन् । अझ पर्यटकीय सिजनमा त अन्तर्राष्ट्रिय उडानको भाडा नै तीन गुणासम्म बढ्ने गरेको छ । त्यति मात्र नभएर नेपाल अउने पर्यटकको विमा शुल्कसमेत अत्यधिक बढेको छ । यस्ता विषयमा ध्यान नदिने तर पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य मात्र राख्ने हो भने त्यो पूरा गर्न कठिन हुने निश्चित छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement