
भक्तपुर । भक्तपुरमा विश्व सम्पदा क्षेत्र अवलोकन लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको चहपहल बढेको छ ।
विषेश गरी चाडपर्व र विदाका दिनमा आन्तरिक पर्यटकहरू धेरै घुम्न आउने गरेका छन भने विदेश पर्यटकहरू पनि सिजनअनुसार उत्तिकै घुम्न आउने गरेको नगरपालिले जनाएको छ । ऐतिहासिक जिवित संग्राहालयको रूपमा रहेको पुरानो सहर भक्तपुरमा यहाँका मठमन्दिर, कला संस्कृति, रहनसहन, दैनिक जिवनशैली तथा सम्पदा अवलोकनका लागि आउने अन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढेको हो ।
यस आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै विभिन्न देशका १९ हजार ३ सय १८ पर्यटकले भक्तपुरको भ्रमण गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । भक्तपुरमा दैनिक सरदर ९ सय ५० को हाराहारीमा विदेशी पर्यटक आउने गरेको छ ।
अहिले पर्यटकीय सिजन भएकाले दैनिक भ्रमणमा आउने पर्यटनको संख्यामा वृद्धि भएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो । यस महिनाको ६ दिनमा मात्रै ५ हजार ७ सय १८ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेको भक्तपुर नगरपालिकाको पर्यटन सुचना केन्द्रको तथ्यांक छ ।
गत आर्थिक वर्षमा मात्रै २ लाख ४४ हजार ८ सय ६८ विदेशी पर्यटक विश्व सम्पदा स्थल अवलोकन गरेको तथ्यांक पर्यटन सुचना केन्द्रले दिएको छ । भक्तपुर नगरपालिकाको प्रमुख आयस्रोत नै पर्यटन शूल्क हो । यहाँ घुम्न आउने विदेशी पर्यटकसँग नगरपालिकाले विभिन्न १४ पर्यटन सेवा केन्द्रबाट प्रवेश शूल्क लिने गरेको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो।
सार्क राष्ट्र र चीनिया पर्यटकसँग ५ सय प्रति व्यक्ति र गैर सार्क राष्ट्रका पर्यटकसँग २ हजार रुपैयाँ प्रति व्यक्ति प्रवेश शूल्क लिने गरेको नगरप्रमुख प्रजापतिले बताउनुभयो । यसरी उठाएको पर्यटक शूल्कबाट नगरको सम्पदा संरक्षण र पुनर्निर्माण, सांस्कृृतिक नाचगान तथा बाजागाजा प्रशिक्षण नगरको सरसफाई , सांस्कृतिक गुरूहरू सम्मान, परम्परागत घर निर्माण गर्ने घर धनीलाई घरको मोहदामा ३५ प्रतिशत वा वढीमा ३ लाख रूपैयाँसम्म अनुदान, शिक्षा, स्वास्थ्य र विकासका लागि खर्च गरिएको नगरप्रमुख प्रजापतिको भनाइ छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा मात्रै पर्यटक प्रवेश शूल्कबाट मात्रै २७ करोड ४४ लाख रूपैयाँ राजश्व संकलन गरिएको जनाएको छ । भक्तपुरमा अमेरिका जर्मन, फान्स, बेलायत, भारत र चीनबाट धेरै पर्यटक आउने गरेको छ ।