नवनियुक्त पर्यटनमन्त्री बद्री पाण्डेसामु चुनौतीका चाङ

असार ३१, २०८१ |भरत रावल
नवनियुक्त पर्यटनमन्त्री बद्री पाण्डेसामु चुनौतीका चाङ

काठमाडौं । पर्यटन बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नुपर्ने, नयाँ पर्यटन ऐन ल्याउनु पर्ने, बजेटले लिएको १६ लाख पर्यटकका लक्ष्य पूरा गर्नुपर्ने, पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्नुपर्ने तथा नेपाल वायुसेवा निगमलाई गति दिनुपर्ने चुनौती नवनियुक्त पर्यटनमन्त्री बद्री पाण्डेसामु छ ।

पर्यटन मन्त्रालयमा आउने मन्त्री आफैं पर्यटक बन्ने स्थिति हुँदा नेपालको पर्यटन उँभो लाग्न नसकेको विश्लेषण पटकपटक हुने गरेको छ । पछिल्लो आमनिर्वाचनपछि बनेका सरकारमै गठबन्धन फेरिएका कारण डेढ वर्षमै पर्यटनमन्त्री पनि पटकपटक फेरिए ।

सुरुमा सुदन किराती झन्डै १३ महिना मन्त्री भए त्यसपछि आएका हितबहादुर तामाङको पनि नियुक्त भएको चार महिनामै बहिर्गमन भयो । २०७० सालयता मात्रै १६ जना पर्यटन मन्त्री फेरिइसके ।

पर्यटन मन्त्रालय २०३४ सालमा भएको थियो । तर नेतृत्वको स्थिरता कहिल्यै नभएको नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारीको भनाइ छ ।

पर्यटन क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ११ लाखलाई रोजगारी दिएको छ । यो क्षेत्रमा २० खर्बभन्दा बढीको लगानी छ । पर्यटन क्षेत्रलाई नेपालको अर्थतन्त्र विकासको प्रमुख आधार बनाउने भनिए पनि व्यवहारमा देखिँदैन । जसका कारण व्यवसायीलाई आफ्नो व्यवसाय गर्नेभन्दा पनि नयाँ आउने मन्त्रीलाई पर्यटन क्षेत्रको महत्त्व बुझाउँदैमा ठिक्क छ ।

पर्यटन बोर्ड विगत ६ महिनादेखि नेतृत्वविहीन छ । नेपाल वायुसेवा निगम लथालिंग अवस्थामा छ । ६० अर्ब ऋणको भार बोकेका भैरहवा र पोखरा विमानस्थल सञ्चालन हुन सकेका छैनन् भने भ्रमण दशक अलपत्र छ । त्यसमाथि बजेटले १६ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । त्यतिमात्रै होइन, देश बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि देशमा २०३५ सालको पञ्चायकालीन पर्यटन ऐन प्रयोगमा छ ।

मन्त्री फेरिनासाथ सचिव र सह-सचिवसमेत फेरिँदा पर्यटन ऐन संशोधनको मस्यौदा १० वर्षदेखि अलपत्र छ । पर्यटनबाटै आर्थिक समृद्धि भने पनि सरकारले नै मन्त्रालयमा अस्थिरता निम्त्याउँदा प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रले कहिल्यै भरपर्दो नेतृत्व पाउन सकेको छैन । यसलाई चिर्नुपर्न दायित्व नयाँ सरकार र नवनियुक्त मन्त्रीमा पनि छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement