काठमाडौं । पर्यटन मन्त्रालय स्थापना भएको ४५ वर्षमा ४१ व्यक्तिले यो मन्त्रालयको नेतृत्व सम्हालेका छन् । २० खर्ब लगानी भएको र ११ लाखले रोजगारी पाएको पर्यटन क्षेत्रको तालुकदार मन्त्रालयको नेतृत्व अस्थिर हुँदा पर्यटन क्षेत्र उकालो लाग्नै सकेको छैन ।
पर्यटन मन्त्रालयमा आउने मन्त्री आफैँ पर्यटक बन्ने स्थिति हुँदा नेपालको पर्यटन उँभो लाग्न नसकेको विश्लेषण सुरु हुन थालेको छ । मन्त्री नियुक्त भएको ४ महिनामै मन्त्री हितबहादुर तामाङको बहिर्गमन सागै पर्यटन सम्बद्ध क्षेत्रमा यस्तो चर्चा सुरु भएको हो । हुन त २०३५ सालमा पर्यटन ऐन बनेसँगै पर्यटन मन्त्रालय स्थापना भएको थियो । तर, ६/६ महिनामा मन्त्री फेरिँदा पर्यटन क्षेत्रले अपेक्षित प्रगति हासिल गर्न सकेको छैन ।
झन् पछिल्लो पटकका पर्यटनमन्त्री हितबहादुर तामाङ जम्मा ४ महिनामै मन्त्रालयबाटै बाहिरिनु भएको छ । पर्यटन बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नुपर्ने, नयाँ पर्यटन ऐन ल्याउनु पर्ने, बजेटले लिएको १६ लाख पर्यटकका लक्ष्य पूरा गर्नुपर्ने, पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्नुपर्ने तथा नेपाल वायुसेवा निगमलाई गति दिनुपर्ने समयमा मन्त्रालयको नेतृत्व ४ महिनामै फेरिएको छ ।
पर्यटन क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ११ लाखलाई रोजगारी दिएको छ भने यो क्षेत्रमा २० खर्बभन्दा बढीको लगानी छ । पर्यटन क्षेत्रलाई नेपालको अर्थतन्त्र विकासको प्रमुख आधार बनाउने भनिए पनि व्यवहारमा देखिँदैन । जसका कारण व्यवसायीलाई आफ्नो व्यवसाय गर्नेभन्दा पनि नयाँ आउने मन्त्रीलाई पर्यटन क्षेत्रको महत्त्व बुझ्दैमा ठिक्क छ ।
पर्यटन बोर्ड विगत ६ महिनादेखि नेतृत्वविहीन छ । नेपाल वायुसेवा निगम लथालिंग अवस्थामा छ । ६० अर्ब ऋणको भार बोकेका भैरहवा र पोखरा विमानस्थल सञ्चालन हुन सकेका छैनन् भने भ्रमण दशक अलपत्र छ । त्यसमाथि बजेटले १६ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । त्यति मात्रै होइन, देश बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि देशमा २०३५ सालको पञ्चायतकालीन पर्यटन ऐन प्रयोगमा छ ।
मन्त्री फेरिनासाथ सचिव र सह-सचिवसमेत फेरिँदा पर्यटन ऐन संशोधनको मस्यौदा १० वर्षदेखि अलपत्र छ । पर्यटनबाटै आर्थिक समृद्धि भने पनि सरकारले नै मन्त्रालयमा अस्थिरता निम्त्याउँदा प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रले कहिल्यै भरपर्दो नेतृत्व पाउन सकेको छैन ।