६ महिनामा भित्रिए ५ लाख ८३ हजार पर्यटक, जुनमा मात्रै ७६ हजार

सरकारले लिएको लक्ष्य पूरा गर्न अझै १० लाख १७ हजार पर्यटक आउनुपर्ने
असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
६ महिनामा भित्रिए ५ लाख ८३ हजार पर्यटक, जुनमा मात्रै ७६ हजार

काठमाडौं । सन् २०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल भित्रिएका छन् ।

यो संख्या गत वर्षको यही महिनाको तुलनामा ६ प्रतिशतले बढी हो । कोरोनाअघि अर्थात् सन् २०१९ को तुलनामा २.४७ प्रतिशतले बढी हो । गत वर्ष ७२ हजार पाँच सय पर्यटक नेपाल भित्रिएकामा सन् २०१९ मा ७४ हजार आठ सय पर्यटन नेपाल घुम्न आएका थिए ।

सबैभन्दा बढी भारतबाट ३७ हजार चार सय ९४ पर्यटक नेपाल घुम्न आएका छन् । दोस्रोमा अमेरिकाबाट आठ हजार दुई सय र तेस्रोमा चीनबाट सात हजार चार सय पर्यटक नेपाल आए । वृद्धिदर भने सबैभन्दा बढी चीनको छ । चीनबाट आउने पर्यटकको संख्या ७२ प्रतिशतले बढेको छ ।

त्यस्तै बंगलादेशबाट आउने पर्यटकको संख्यामा ६० प्रतिशतले वृद्धि भएको छ भने अस्ट्रेलियाबाट आउने पर्यटको संख्या ५९ प्रतिशतले बढेको छ ।

योसँगै सन् २०२४ को पहिलो पहिलो ६ महिनामा नेपाल आउने पर्यटकको संख्या पाँच लाख ८३ हजार १६ पुगेको छ । सन् २०२४ मा सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जसलाई पूरा गर्न अझै ६ महिनामा १० लाख १७ हजार पर्यटक भित्र्याउनु पर्नेछ ।

सन् २०२४ को जनावरीमा ७९ हजार, फेब्रुअरीमा ९७ हजार, मार्चमा एक लाख २८ हजार, अप्रिलमा एक लाख ११ हजार, मेमा ९० हजार र जुनमा ७६ हजार सात सय पर्यटक आएका छन् ।

देशअनुसार पछिल्लो ६ महिनामा भारतबाट एक लाख ८६ हजार ६ सय, अमेरिकाबाट ५४ हजार एक सय र चीनबाट ५३ हजार ६ सय पर्यटक नेपाल आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.