बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड यतिबेला हिउँ परेर सेताम्मे छ । भू स्वर्गको उपमाले प्रसिद्ध खप्तड हिउँको घुम्टोले छोपिँदा झन् मनमोहक देखिएको छ । यद्यपि खानपान र सुविधायुक्त आवासको अभावमा यहाँ पुग्ने पर्यटकको सङ्ख्या भने न्यून छ ।
हिमपातपछि खप्तडका फराकिला र सुन्दर पाटनहरू सेताम्मे भएका छन् । मौसम सफा भएका कारण हिमालहरू प्रस्ट खुलेका छन् ।
रुख र बुट्यानहरूले हिउँको बर्को ओडेका छन् । घर र रुखमा झुन्डिएका बरफका कलात्मक आकृतिहरू सूर्योदयसँगै पग्लिँदै गरेका मनोहर दृश्यहरू यत्रतत्र देखिन्छन् ।
हिउँ र बरफले छोपिएर भूमिगत बग्दै गरेका खोलाहरूको आवाजले यहाँको प्रकृति संगीतमय प्रतीत हुन्छ । स्वीटजरल्याण्डको आल्प्स क्षेत्रलाई समेत माथ दिने यहाँको दृश्यावली वर्णानातीत छ । दुःखको कुरा खप्तडको यो सुन्दर रूप हेर्न कोही पनि नआाउँदा खप्तड भने एक्लो छ । सुनसान ।
पर्यटकको आवागमन सहज होस् भनेर यहाँ रहेको सिंह शार्दूल गुल्मले खप्तड प्रवेश गर्ने सबै जिल्लाको बाटोहरू खोलिसकेको छ । खप्तड राष्ट्रिय निकुञ्जभित्र घुम्ने मुख्य ठाउँहरु त्रिवेणी, बाबा आश्रम, खापर दह, घोडादाउना पाटन लगायतका ठाउँसम्म पुग्ने बाटो पनि खोलेको छ । यद्यपि यहाँ घुम्न आउनेहरूको सङ्ख्या भने नगण्य छ ।
खप्तड राष्ट्रिय निकुञ्जका कर्मचारीहरूका अनुसार माघ महिनाको चौथो सातासम्ममा यहाँ मुस्किलले सात जना नेपाली पर्यटकहरू पुगेका छन् । पुसमा ३१ जना नेपाली र एक जना विदेशीले खप्तड घुमेको निकुञ्ज कार्यालयको तथ्याङक छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिना आठ सय ९० जना पर्यटकले खप्तड टेकेका छन् ।
निकुञ्ज क्षेत्रमा सुविधाजनक खाने बस्ने व्यवस्था नहुनु, विद्युत्, टेलिफोन र इन्टरनेट सेवा गतिलो नहुनू, लगानी गरिएका पूर्वाधारहरू समयमै निर्माण सम्पन्न नहुनु जस्ता कारणहरूले यहाँ एक पटक पुगेका पर्यटकको बसाइ भने कष्टकर हुने गरेको छ ।
खप्तडमा अपेक्षाकृत पर्यटकको सङ्ख्या बढ्न नसके पनि राज्यले यहाँ गरेको लगानीको अंक भने ठुलो छ । लगानीको सही सदुपयोग हुन नसकेको कारण खप्तड जस्तो मनोहर गन्तव्य प्राय सुनसान हुने गरेको छ ।